
विप्लव बन्दमा बमकाे अातंक : कहाँ के भयाे ?
काठमाडौं, ५ बैसाख :
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अायाेजना गरेकाे बन्दका क्रममा बमकाे प्रभाव बढि देखिएको छ।

सरकारले लगाएको प्रतिबन्ध फुकुवा नगरे सरकार बिरुद्ध कडा आन्दोलनको घोषणा गरेर नेपाल बन्द गरेकै दिन अज्ञात समुहले देशभरी बम विस्फोट गराएको छ, भने सवारीसाधनमा आगजनी समेत गरेको छ । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको बम डिस्पोज गर्ने क्रममा एक सैनिक घाइते भएका छन् ।
प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो । त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ । उता पाल्पाको रिब्दिकोट गाउँपालिकाको भवनमा पनि बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ ।
विस्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राह्रोसमेत केही चर्किएको छ ।
त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा भेटिएको बम पनि सेनाले निस्क्रिय पारेको छ । उता मकवानपुरको भिमफेदी गाउँपालिका -९ गोलमोडमा हेटौंडाबाट तरकारी बोकेर पालुङतर्फ जाँदै गरेकोे मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ ।
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ कुखुरा बोकेर जाँदै गरको बोलेरो जिपमा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ । बम विस्फोट र आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव परेको छ । भने लामो दुरीका सवारीसाधन चलेका ठप्प छन् ।
