पहिलोपटक नेपालकाे अाफ्नै स्याटलाइट प्रक्षेपण

काठमाडौं , ५ बैसाख –

नेपालकाे अाफ्नै स्याटलाइट पहिलो पटक अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह अमेरिकाबाट नेपाली समय अनुसार बिहीबार विहान २:३५ बजे प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ।

सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।

त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ।

NepaliSat-1 (नेपालीस्याट-१) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ। त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्ने बताइएको थियाे ।

बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो।

बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।

नेपालकाे इतिहासमा पहिलाेपटक अाफ्नै झण्डा सहितकाे भु उपग्रह प्रक्षेपण हुनुले नेपालीको सान बढेकाे भन्दै सामाजिक सञ्जालमा खुशी व्यक्त गरिएको छ ।