सबै जनतालाई प्रशोधन सहित खानेपानी पुर्याइन्छ : मन्त्री बिना मगर

काठमाडौं, बैसाख । खानेपानी मन्त्री बिना मगरले सबै जनतालाई प्रशोधन सहितको खानेपानीको पहुँच पुर्रयाउने बताएकी छिन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको मंगलबार शिलान्यास गर्दै मन्त्री मगरले सो घोषणा गरेकी हुन् ।

तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानीको अभाव हुँदै जान थालेपछि उक्त क्षेत्रका जनतालाई खानेपानी पु¥याउने उद्देश्यले पानी ट्यांकीको शिलान्यास गरिएको हो । गोलढुंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले औपचारिक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रीबाट पानी ट्यांकीको शिलान्यास गराएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु¥याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको बताइन् । उनले सन् २०३० सम्ममा प्रशोधन सहितको खानेपानीको सुविधा शत प्रतिशत पु(याउन सरकार लागिरहेको जानकारी दिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘ दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ । प्रशोधन सहित खानेपानीको पहुँच पु¥याउन धेरै लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’

मन्त्री मगरले जनतालाई मालिक बनाउन खानेपानीको क्षेत्रमा सहलगानी मोडालिटीमा आयोजनाहरु अघि बढाइएको बताउनुभयो । खानेपानीमा जनताको प्रत्यक्ष सहभागिता गराएर मात्रै आयोजनाहरु अघि बढाउँदा समयमै काम सकिने र सफल हुने उनको भनाई थियो । ‘जनताले आफैं लगानी गरेको आयोजनाहरु सफल भएका छन् । सरकारको ७० प्रतिशत र जनताको ३० प्रतिशत लगानीमा आधारित आयोजनाहरु अघि बढाउन हाम्रो टीमले काम गरिरहेको छ । अन्नका लागि मात्रै नभई पानीका लागि पनि हामी संघर्ष गर्नुपर्छ ।’ उनले भनिन् ।

गोलढुंगामा शिलान्यास भएको पानी ट्यांकीको लागत ५० लाख रुपैंया रहेको छ भने उक्त ट्यांकीको क्षमता २ लाख २० हजार लिटर रहेको छ । समितिले खानेपानी विभाग अन्तर्गतको सहलगानी आयोजनासँग मिलेर तारकेश्वर नगरपालिका भित्र पाँच वटा पानी ट्यांकीहरु निर्माण गर्न लागिएको जनाएको छ ।