राष्ट्रिय सतर्कता केन्द्रद्वारा १५३४ कर्मचारीलाई कार्वाही सिफारिस
काठमाडौँ, वैशाख २ गते ।
राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन् ।
निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ । दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था रहेको छ ।
यसैगरी केन्द्रमा अहिलेसम्म छड्के अनुगमन गर्दा कारवाहीका लागि सिफारिस गरिएकामध्ये ७९९ कर्मचारीलाई कारवाही गरिएको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
