गुट किचलोले झन कमजोर बन्दै काँग्रेस : कहिले बस्ला केन्द्रीय समिति ?

काठमाडौं , २७ चैत-

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेका नेपाली कांग्रेस आफ्नै आन्तरिक झगडाका कारण झनै किचलोमा फस्दै गएको छ ।

पटकपटक सत्ता र प्रतिपक्षमा रहँदाको अनुभव संगालेको कांग्रेसले आन्तरिक किचलोकै कारण सशक्त प्रतिपक्षको भूमिकामा आफूलाई उभ्याउन सकेको छैन ।

पछिल्लो समय कांग्रेसमा महासमिति बैठकको म्यान्डेडविपरीत केन्द्रीय समिति बैठकले विधानको विषयमा बहुमतले निर्णय लिएपछि कांग्रेसभित्रको किचलो झनै झाँगिएको हो । सो विषय अहिले आएर पार्टीको कार्यसम्पादन समिति गठनको विषयसम्म आइपुग्दा झनै झाँगिन पुगेको छ । यस्तै, नेपाल विद्यार्थी संघको नेतृत्वले राजीनामा दिएपछि कांग्रेसले गुट किचलोकै कारण एक महिना बित्दासमेत नेविसंघलाई नेतृत्वविहीन बनाएको छ ।

नेता अर्जुननरसिंह केसीले पार्टीमा बढ्दो किचलोलाई निश्चित दिशा दिन जरुरी रहेको बताए । उनले निष्पक्ष, पारदर्शी, तथा विधानसंगत रूपमा पार्टीलाई बढ्दो किचलोबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।
‘पार्टीमा दिन प्रतिदिन किचलो बढ्दै छ, हरेक विषयलाई सहमतिका साथ टुंग्याउनुपर्छ, त्यसका लागि निष्पक्षता, पारदर्शिता र विधिसंगत रूपमा पार्टीलाई सञ्चालन गर्नुपर्छ, अनि मात्र कम्युनिस्टसँग पनि लड्न सकिन्छ’, नेता केसीले राजधानीसँग भने ।
यस्तै, महासमिति बैठकको एजेन्डालाई लिएर जिल्ला सभापतिसमेत गुटगत आधारमा नै विभाजित हुन थालेका छन् । सोही आधारमा केही दिनअघि राजधानीमा संस्थापनइतरका जिल्ला सभापतिले महासमिति बैठकको म्यान्डेड र आफूहरूसँगको सहमतिविपरीत विधानमाथि बहुमतले निर्णय गरेको भन्दै विशेष महाधिवेशनसम्मको धम्की पार्टी नेतृत्वलाई दिइसकेका छन् ।

यसैगरी, पार्टीमा कार्यसम्पादन समितिको विषयले समेत कार्यकर्ता तहमा निराशा बढाएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यसम्पादन समितिमा रहने नेताहरूको भागबन्डाको विषयमा कुरा नमिल्दा पार्टीको केन्द्रीय समिति बैठक नै स्थगित हुन पुगेको छ ।
सभापति देउवाले गत शुक्रबार आफ्नो बूढानीलकण्ठस्थित निवासमा बोलाएको शीर्ष नेताहरूको बैठकमा सो समितिको विषयलाई लिएर देउवा र वरिष्ठ नेता पौडेलबीच ६०/४० प्रतिशतको अडानका कारण केन्द्रीय समिति बैठक नै स्थगित भएको थियो ।

सो बैठकमा १३आंै महाधिवेशनपछि कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गराएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई व्यवस्थापन गर्ने विषयमा वरिष्ठ नेता पौडेलले आफ्नो भागमा नपार्न सभापतिलाई भनेपछि बैठक अन्योलमा परेको हो ।
सो बैठकमा पौडेलले सिटौलालाई आफ्नो भागमा नसमेट्ने बताएपछि सिटौला बैठकबाटै बाहिरिएका थिए । यस्तै, देउवाले सोमबार बोलाएको बैठकमा समेत सिटौला सहभागी भएनन् । उनले पार्टीलाई भागबन्डाबाट चलाउँदा झनै कमजोर हुने भन्दै भागबन्डाबाट पार्टी नचल्ने बताउँदै आएका छन् । यही विवादका कारण केन्द्रीय समिति कहिले बस्ने टुंगो लागेको छैन । तर, सभापति देउवा निकट नेता गोपालमान श्रेष्ठले भने कार्यसम्पादन समितिको विवाद मिलेको बताए ।
‘कार्यसम्पादन समितिको विवाद मिलिसकेको छ, केही दिनमा नै केन्द्रीय समिति बैठक बसेर समिति गठन हुन्छ’, श्रेष्ठले भने ।

राजधानी दैनिकबाट लिइएको हाे ।