दाेरम्बा डाँडाकटेरीमा २१ शहीदकाे शालिक बनाईँदै

रामेछाप, २५ चैत ।

दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा सशस्त्र जनयुद्धमा शहीद भएका २१ शहीदको अर्धकदको सालिक निर्माण गरिने भएको छ ।

विसं २०६० साउन ३२ गते दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर सेनाले तत्कालीन माओवादी रामेछापका जिल्ला प्रमुख बाबुराम तामाङसहित २१ को सामूहिक हत्या गरेको थियो । 


डाँडाकटेरीलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा चिनाउन गाउँपालिकाले पनि कार्यक्रम अगाडि बढाएको अध्यक्ष कमानसिं मोक्तानको भनाइ छ । सांसद श्यामकुमार श्रेष्ठले डाँडाकटेरीको विकासका लागि आफू लागिपरेको उल्लेख गर्दै घटनास्थलमा समाधिस्थल निर्माण गर्न बजेट उपलब्ध गराउन पनि भूमिका निर्वाह गरेको बताउनुभयो ।

दोरम्बा हत्याकाण्ड भएको स्थान डाडाँकटेरीको विकास गर्नका लागि शहीद स्मृति प्रतिष्ठान नै दर्ता गरेर काम अगाडि बढाइएको छ । प्रदेश नं ३ सरकारले अर्धकदको सालिक निर्माण गर्न रु २० लाख बजेट उपलब्ध गराएको दोरम्बा शहीद प्रतिष्ठनका अध्यक्ष धनबहादुर तामाङले जानकारी दिनुभयो ।

सालिक निर्माणको काम प्रतिष्ठानमार्फत गरिने पनि उहाँले जानकारी दिनुभयो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको पहलमा सालिक निर्माण गर्न बजेट विनियोजन भएको हो । गाउँपालिकाले पनि हत्याकाण्ड भएको स्थानको विकासका लागि काम अगाडि बढाएको छ ।

यसअघि डाँडाकटेरीमा शहीद स्मृति समाधिस्थल निर्माण भइसकेको छ । करीब दुई रोपनी जग्गामा निर्माण गरिएको समाधिस्थलको पर्खाल लगाउने र प्रवेशद्वार निर्माण गर्ने काम सम्पन्न भएको छ । गाउँपालिकाले समाधिस्थलमा रु आठ लाख लगानीमा ट्रष्ट निर्माण गर्न लागिएको छ ।

त्यसैगरी गाउँपालिकाले डिपिआरका लागि रु दुई लाख छुट्याएको वडा नं २ का अध्यक्ष खड्गबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सो हत्याकाण्ड भएको १५ वर्षपछि डाँडाकटेरीमा शहीदका अर्धकदको सालिक निर्माण हुन लागेको हो । चौबिस इञ्च अर्धकदको सालिक राखिने अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार आगामी साउन ३२ गते स्मृति दिवसका अवसरमा उद्घाटन गर्ने कार्यक्रम छ ।

गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसाद गजुरेलले डाँडाकटेरीको विकासका लागि आफूहरु लागिपरेको बताउनुभयो । गत वर्ष दोरम्बामा भएको कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोरम्बाको डाँडाकटेरीलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । उक्त हत्याकाण्डको स्मरणमा हरेक वर्ष श्रद्धाञ्जलिसभाको आयोजना गरिँदै आएको खबर गाेरखापत्रमा छ ।