
विमानकाे शाैचालयमा २३ किलाे सुन भेटियाे
काठमाडौं, २५ चैत-
बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका झण्डै २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमबार बरामद गरेका त्यहाँको सुरक्षा स्रोतले जानकारी गराएको छ ।

सुनको तौल २३ किलोभन्दा बढी भएको र सुनसँग सम्बन्धित कुनै व्यक्तिलाई पनि पक्राउ नगरिएको एक जना भन्सार अधिकारीले जनाएका छन् ।
भन्सार गुप्तचर विभागका अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वा न्यूज एजेन्सीसँग भने, ‘हामीले विमान बङ्गलादेशको शौचालयमा छोडिएका २०० वटा सुनका सिक्कालाई बरामद गरेका छौँ ।’
‘सुन शौचालयमा छोडिएको अवस्थामा बरामद भएको र यसबारे अनुसन्धान भइरहेकोले विस्तृत विवरण पछि दिइनेछ’, उनले भने ।
विमान दुबईबाट आएको र स्थानीय समय अनुसार सोमबार बिहान ६ बजे बङ्गलादेशको राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम बन्दरगाह शहरस्थित विमानस्थलमा अवतरण भएको थियो ।
अधिकारीका अनुसार त्याे सुनका सिक्काको मूल्य १४ लाख ३० हजार अमेरिकी डलर (दश कारोड टाका) बराबर भएको बताए ।
