अाँधि पीडित क्षेत्रमा पुगेर प्रचण्डकाे घाेषणा – प्रति परिवार ५ लाख, उपचार निशुल्क, घर निर्माण
काठमाडौं, २० चैत-
बारा-पर्सामा आएको हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई सत्तारुढ नेकपाले राहत स्वरुप ५–५ लाख रुपियाँ प्रदान गर्ने भएको छ।

हावाहुरीबाट प्रभावित बाराको पुरैनिया पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राहत वितरणको क्रममा नेकपाको तर्फबाट प्रतिपरिवार ५–५ लाख दिने घोषणा गरेका हुन्।
हावाहुरीमा परी अहिलेसम्म २८ जनाको निधन भइसकेको छ। अध्यक्ष प्रचण्डको घोषणा अनुसार अहिलेसम्म ज्यान गुमाएका २८ जनाका लागि नेकपाले १ करोड ४० लाख रुपियाँ प्रदान गर्नेछ।
प्रचण्डले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।
त्यसपछि फेटा–६ बरैनिया पुगेका उनले त्यहाँ आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट सम्बोधन गरे । यो गाउँमा हावाहुरीबाट १० जनाको मृत्यु भएको छ ।
सत्तारुढ नेकपाले यसअघि नै आफ्ना प्रत्येक सांसदबाट एक दिनको तलब बराबरको रकम संकलन गरी सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरिसकेको छ।
