
खानेपानी मन्त्रीकाे निर्देशनमा विभागले पठायो बारामा ‘वाटर एम्बुलेन्स’
काठमाडौं, १८ चैत –
बारा र पर्सामा हिजो अाइतबार आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ । खानेपानी मन्त्री विना मगरकाे निर्देशनमा विभागले एम्बुलेन्स पठाएकाे मन्त्रालयले जनाएकाे छ ।

हावाहुरी आँधीले क्षति पु-याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो ।
पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ । फोहोरपानीलाई शुद्धीकरण गरी पिउन योग्य बनाउनका लागि वाटर एम्बुलेन्समा प्रविधि जडान गरिएको छ ।
पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ । पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने विशेषज्ञ पाण्डेले बताउनुभयो । हिजो विनाशकारी हावाहुरीले बारा र पर्सामा ठूलै क्षति पु-याएको छ ।
