हावाहुरी पीडितलाई संघिय सरकारले सहयोग गर्छ : प्रधानमन्त्री ओली

झापा, १८ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीका कारण जनधनको क्षति ब्यवहोरेका पीडित परिवारलाई संघीय सरकारले सहयोग गर्न सक्ने बताएका छन् ।

संघीय सरकारका मन्त्री, गृहसचिवसहित घटनास्थलको स्थलगत अवलोकन पछि प्रधानमन्त्री ओलीले पीडितलाई गर्नुपर्ने आवश्यक सहयोग गर्ने बताएका हुन्।

सोमबार बिहान गृहजिल्ला झापास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा दमक नगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावाहुरीको क्षतिबाट आफू मर्माहत भएको बताए। प्रधानमन्त्री ओलीले हिजै हावाहुरीले पुर्याएको मानविय र भौतिक क्षतीप्रति दुःख व्यक्त गर्दै ३ पटक सम्म ट्वीट गरेका थिए ।

उनले प्राकृतिक विपत्ती भएकाले यसका पीडितलाई सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गरेका छन् । ओलीले घटनालगत्तै सरकारले पीडितको उद्दार तथा राहतमा खटिन आफ्ना सबै संयन्त्र परिचालन गरिसकेकाले थप गर्नुपर्ने कार्यहरु पनि गर्ने बताए ।

प्रधानमन्त्री ओलीले विनाशकारी भूकम्पमा जस्तै बारा र पर्सामा हावाहुरीबाट भएको क्षति पछिको अवस्थामा खटिन पार्टी पंक्ती र अन्य संघसंस्थालाई अपील पनि गरेका छन् ।

प्रधानमन्त्रीले प्रदेश २ को सरकारले पनि पीडित परिवारलाई केही सहयोग गर्ने निर्णय गरिसकेकाले नदोहोरिने गरी संघीय सरकारले पनि पीडित परिवारलाई सहयोग गर्ने जानकारी दिएका छन् । उनले घटनास्थलको अवलोकनपछि हावाहुरीले भत्किएका घरहरु बनाउनेतर्फ संघीय सरकारले कदम चाल्ने उल्लेख गरे ।

घटनास्थलको अवस्था हेर्न वीरगञ्ज जाँदैछु । पीडित परिवारलाई प्रदेश सरकारले पनि केही सहयोग गर्ने निर्णय गरिसकेको छ । संघीय सरकारले के सहयोग गर्न सक्छ अवलोकनपछि हामी त्यसबारे निर्णयमा पुग्छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कति घर भत्किएका रहेछन् ।

हेरौं, सकियो भने संघीय सरकारले भत्किएका घरहरु बनाउन सहयोग गर्छ ।’ प्रधानमन्क्री ओली गृहजिल्लाका केही कार्यत्रम स्थगित गरेर वीरगञ्जतर्फ लागेका छन् । ओलीले वीरगञ्ज जानुअघि सोमबार बिहान नेकपा दमक नगर कमिटीको सपथ ग्रहण र नवनिर्मित दमक पशुपन्छि हाटको उद्घाटन गरेका थिए ।