बारामा ज्यानमारा हावाहुरी : २७ काे मृत्यु, ४०० बढी घाइते, क्षति बढ्दै

काठमाडौं, १८ चैत-

बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति भएको छ । आइतबार साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण २७ जनाको मृत्यू भएको छ, भने ४ सय बढी संख्यामा घाइते भएका छन् ।

बारामा २६ जना र पर्सामा १ जना गरेर २७ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म घाइतेहरुको एकिन भने गर्न नसकिएको प्रहरी प्रमुख सर्बेन्द्र खनालले जानकारी दिएका छन । तर संचारकर्मी र स्थानीयले दिएको सुचना अनुसार ४ सय बढी घाइते भएका छन् ।

घाइतेहरुले नारायणी अस्पताल भरिएको छ । त्यसैगरि जिल्लामा रहेका स्थानिय अस्पताल र स्वास्थ्य चाैकीमा समेत घाइतेको उपचार गरिएको छ ।

बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका थिए ।

ज्यान गुमाउनेमा परशुरामपुरमा ४, फेटा पुरनियामा ९, गछियामा ५, धर्मनगरमा ४, टेकलकुवामा १ काे शव फेला परेकाे छ भने पर्सामा १ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने अधिकांश बालबालिका र बृद्वबृद्वा रहेका छन् ।

निधन हुने सबैमा हार्दिक श्रध्दाञ्जलि र शाेकाकुल परिवारमा गहिरो समवेदना । पिडीतकाे उद्दार र राहतमा अविलम्ब लाग्नु पर्ने देखिन्छ ।