दुई विषयको परिक्षा स्थगित भएपछि विद्यार्थीले बाले टायर

सर्लाही, १५ चैत ।
लगातार दुई वटा विषयको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएपछि आक्रोसित सर्लाही सहित प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन् ।

शुक्रबार अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको पुष्टी हुनासाथ राष्ट्रिय परीक्षा बोर्डले प्रदेश दुईमा नियमित तर्फ सामाजिक विषयको परीक्षा स्थगित गरेको हो । यसअघि बिहिवार पनि परीक्षा हुनुभन्दा अघिनै अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको पुष्टी भएपछि लिइसकिएको परीक्षा समेत रद्द गरिएको थियो ।

बारम्बार परीक्षा रद्द र स्थगित भएपछि विद्यार्थीहरु सडक आन्दोलनमा उत्रिएका हुन् । आक्रोशित विद्यार्थीले शुक्रवार बिहान सर्लाही सदरमुकाम मलङ्गवामा टायर बालेर प्रदर्शन गरेका छन् । मलङ्गवाको बसपार्क नजिक टायर बालेर नाराबाजी गरिरहेका विद्यार्थीलाई प्रहरीले बल प्रयोग गरेर भगाएको थियो ।

अन्य ठाउँको लापरवाहीले दोस्रो पटक परीक्षा स्थगित भएपछि असन्तुष्ट विद्यार्थीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दीमा पनि सुक्रवार बिहान केहीबेर नाराबाजी गरेका थिए । बिहिवार रातीनै प्रश्नपत्र बाहिरिएको हल्लाका बीच सुक्रवार बिहान परीक्षा केन्द्रमा पुगेका विद्यार्थी परीक्षा स्थगित भएको जानकारी गराउनसाथ आक्रोशित भएका थिए । दिनहुँ परीक्षा स्थगित गरेर तनाव थप्ने काम गरिएको विद्यार्थीको गुनासो छ ।

यसैबीच नियमिततर्फको परीक्षा स्थगित भएपनि २०७३ साल अघिको गे्रडवृद्धि र प्राविधिक धारतर्फको परीक्षा केन्द्र रहेको सदरमुकाम मलङ्गवाको कृष्णमति माध्यमिक विद्यालयमा भने सुक्रवार पनि परीक्षा सञ्चालन भएको छ । प्राविधिक धारतर्फ सामाजिक विषय नहुने र गे्रडवृद्धिका विद्यार्थीको प्रश्नपत्र अर्कै हुने भएकाले परीक्षा लिइएको शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाका प्रमुख चेतकुमार पोखरेलले जानकारी दिए ।