प्रदेश २ मा एसइइको प्रश्नपत्र लगातार आउट : मुख्यमन्त्री भन्छन्–‘बदनाम गर्ने षड्यन्त्र’

काठमाडौं, १५ चैत ।
प्रदेश २ मा एसइइको सामाजिक विषयको प्रश्नपत्र परिक्षा अगाबै आउट गरएिपछि एसइइको महत्व र गरमिामाथी नै पश्न उठेको छ ।
जारी एसईई अन्तर्गत प्रदेश २ मा अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र परीक्षा अगावै बाहिरिएको पुष्टि भएको छ। शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रामाकान्ता शर्मा प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन् ।

मुख्य मन्त्री लाल बाबु राउतले भने आफ्नो प्रदेशलार्य बदनाम गराउन प्रश्न पत्र आउट गरिएको बताएका छन् उनले एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन् । उनले लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको दाबीसमेत गरेका छन् ।

प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि मुख्यमन्त्री राउतले त्यसमा केन्द्र सरकार नै जिम्मेवार रहेको बताएका हुन् ।

प्रदेश २ को परीक्षा प्रदेश सरकारले नभएर केन्द्र सरकारका निकायले नै गरेकाले उनीहरू नै जिम्मेवार हुने मुख्यमन्त्री राउतको भनाइ छ ।

मुख्य मन्त्री राउतले एसईईको प्रश्नपत्र आउट हुनु प्रदेशका लागि अति नै दुःखदायी घटना भएकाले यसबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न केन्द्र सरकारसँग माग गरे ।

‘छानबिनको नाममा समय गुजार्ने प्रचलन छ’, उनले भने, ‘परीक्षाको प्रश्नपत्र आउट प्रकरण गम्भीर भएकाले छिटोभन्दा छिटो कारबाही हुनुपर्छ ।’

संघ सरकारका निकायहरु प्रदेश २ लाई बदनाम गराउन लागि परेको आरोपसमेत राउतले लगाए । ‘संघीयतालाई नरुचाउनेहरुले षडयन्त्र गरेका हुन् । शिक्षाप्रतिको रुचि बढ्दै गएको अवस्थामा प्रदेशलाई बदनाम गराउने प्रयास भइरहेको छ’, राउतले असन्तुष्ट व्यक्त गर्दै भने ।

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि उक्त विषयको परीक्षा स्थगित गरिएको निर्देशक शर्माले जानकारी दिए । आजको लागि तोकिएको प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रहेको उनले बताए ।
विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्‍नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको थियो।

विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरु सप्तरी र सिरहामा फेला परेको थियो भने शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्‍नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको थियो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख प्रमुख शंकरराज लुईँटेलले पनि प्रश्नपत्र बाहिरिएकाले सामाजिकको परीक्षा संचालन नभएको तर प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रुपमा भइरहेको जानकारी दिए।

परीक्षा रद्द भएपछि विद्यार्थी र अभिभावकहरु मानसिक तनावमा परेका छन् भने राज्यलाई समेत करौडौंको व्ययभार थपिएको छ। प्रदेश २ मा ७० हजार पाँच सय ६८ परीक्षार्थीले परीक्षा दिइरहेको परीक्षा नियन्त्रक विष्णु अधिकारीका भनाइ छ। प्रश्नप्रत्र कुन केन्द्रबाट बाहिरिएको भन्ने खुलेको छैन ।