शिक्षकहरू हाेसियार ! अब विद्यार्थीले ग्रेड ई ल्याए शिक्षक बर्खास्त हुने

काठमाडौं, १३ चैत-

विद्यार्थीले कम ग्रेड ल्याए शिक्षकलाई नै कारबाही गर्ने गरि शिक्षा नीति बन्न लागेको छ । सार्वजनिक शिक्षाको गुणस्तर घटिरहेको जनगुनासो बढिरहेको बेला विद्यार्थीले कम ग्रेड ल्याएमा विषय शिक्षकलाई नै कारबाही गर्ने गरि प्रस्ताव तयार भएको हो ।

प्रस्तावमा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यार्थीको कम ग्रेड आएमा प्रधानाध्यापकको ग्रेड रोक्का र विद्यालयको अनुदान समेत कटौटी गर्ने व्यवस्था छ । सांसद उमेश श्रेष्ठको नेतृत्वमा शिक्षा नीति परिमार्जन गर्न बनेको प्रतिवेदनमा परीक्षाको नतिजाको आधारमा विद्यालयलाई पुरस्कार र दण्डको व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

प्रतिवेदनमा एसईई परीक्षामा तीन वर्षसम्म एकै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीको ग्रेड ‘डी’ र ‘ई’ आएमा सम्बन्धित विषय शिक्षकलाई सेवाबाट मुक्त गर्ने प्रस्ताव गरिएको छ । साथै ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले डी र ई ग्रेड ल्याएमा विद्यालयको प्रधानाध्यापकको समेत ग्रेड रोक्का गर्नुपर्ने र विद्यालयले पाउँदै आएको सरकारी अनुदान घटाउने प्रूताव समेत छ ।

मंगलबार शिक्षा समितिमा पेश गरिएको प्रस्तावित प्रतिवेदनअनुसार एसईई परीक्षामा ९० प्रतिशतभन्दा बढी विद्यार्थीले जीपीए ३.८ ल्याउने विद्यालयले कुल बजेट निकासाको ५ देखि १० प्रतिशत प्रोत्साहन रकम प्राप्त गर्ने छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा आवासीय विद्यालय स्थापना गर्न सरकारलाई निर्देशन दिन पनि उपसमितिले समितिलाई सुझाव दिएको छ ।