मन्त्रीले अाफ्नाे पहिरन लगाएपछि राना थारू समुदाय खुशी

कन्चनपुर, १२ चैत –

खानेपानी मन्त्रीले अाफ्नाे समुदायको पहिरन लगाएर कार्यक्रममा सहभागी भएपछि राना थारू समुदाय खुशी र उत्साहित देखिएका छन् ।

गृहजिल्ला कञ्चनपुरमा स्थानीयले आयोजना गर्ने कार्यक्रममा प्राय: सहभागी हुने गरेकी मन्त्री विना मगर सोमबार कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगिन ।

थारु पहिरनमा बेलुली झै सिँगारिएकी खानेपानी मन्त्री बिना मगरले नै कार्यक्रमको प्रमुख आकर्षण बनिन।

खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले यो पहिरन लगाएको मन्त्री मगरले बताइन् । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो ।

कार्यक्रम होली मिलन समारोहमा सहभागी भएपछि खानेपानी मन्त्री मगरले राना थारु होम स्टे र उधान ( गार्डेन ) को शिलान्यास गरिन्। कला संस्कृतिको मात्रै जगेर्ना नभई होम स्टेबाट स्थानीय समुदायको आय आर्जन पनि वृद्धि हुने मन्त्री मगरको भनाइ छ ।

उनले कञ्चनपुरको विकासका लागि आफूले सक्दो प्रयास गरिरहेको बताइन् । बाटो घाटो, पुल पुलेसा तथा खानेपानी लगायत पूर्वाधारको संरचना विकासका लागि आफूले काम गरिरहेको उनको भनाई छ।