
भूमिगत बसेर क्रान्ति गर्छु भन्ने सपना नदेख : प्रधानमन्त्री
काठमाडौं, १० चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भुमिगत बसेर क्रान्तिको सपना नदेख्न चेतावनी दिएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा बैठकमा आइतवार हिउँदे अधिवेशन समापन मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लक्षीत गरी भुमिगत रुपमा क्रान्तिको सपना नदेख्न चेतावनी दिएका हुन् ।

विप्लव समूहलाई वार्तामा आउन बाटो खुला रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ’ उनले भने, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’ उनले सरकारले चन्दाको नाममा लुटपाट गर्न, बम पड्काउन र विध्वंस मच्चाउन नदिने र त्यस्तो कल्पना पनि नगर्न आग्रह गरे ।
‘लोकतान्त्रिक अभ्यास आचरणअनुसार सबै चल्नुपर्छ, त्यसमा सरकार एकदमै दृढ छ । अब देशमा यस्तै प्रकारको अशान्तिको श्रृखला जारी रहन्छ कि भन्ने कल्पना नगरे हुन्छ, जारी राख्न सकिन्छ कि भनेर सोचेको छ भने कल्पना नगरे हुन्छ ।’
कतिपयले दुई तिहाईको सरकार, दुई तिहाईको सरकार भन्ने गरेको भन्र्दै उनले भने, ‘दुई तिहाईको सरकार हो । जथाभावी हुन दिँदैन, संविधान कानुन अनुसार नियन्त्रण गर्छ ।’
सरकारले विप्लव समूहलाई प्रशासनिक ढंगले मात्र समाधान गर्न नखोजेको पनि उनले बताए । श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको भन्दै उनले सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने बताए ।
त्यसैगरी अर्को प्रसंगमा प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको प्रश्नमा जनमतसंग्रहको कल्पना पनि गर्न नसकिने बताएका छन् । सीके राउतसँग भएको सहमतिमा जनमतसंग्रहको कुरा कतै उल्लेख नरहेको दावी पनि गरेका छन् ।
‘जनमत संग्रह कसैले भनेको छैन, अनौठो शब्दावली सिर्जना गरियो,’ प्रधानमन्त्री ओलीले भने, ‘जनमतसंग्रह सार्वभौम सम्पन्न जनताको अधिकार कुरा हो, यो त्याज्य हुँदैन, ग्राह्य हुन्छ, तर यो कतिबेला, के विषयमा, केका लागि भन्ने हुन्छ ।’
विखण्डनका कुरा गर्नेहरूले आफ्नो बैठकमा राष्ट्रिय गान बजाउन थाल्दा पनि आफ्नो विरोध गरिएको गुनासो प्रधानमन्त्री ओलीले गरे ।
