
श्रीलंकालाई ४ गाेलले पराजित गर्दै नेपाली महिला टाेली फाईनलमा
विराटनगर, ६ चैत ।
पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ४–० पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद रङ्गशालामा भएको खेलमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । नेपालकी जर्घामगरले खेलको ४२ औँ मिनेटमा पहिलो गोल गरिन भने ७३ औँ मिनेटमा बस्नेतले गोल गर्दै नेपालको अग्रता २–० अगाडि बढाइन् ।
यसैगरी खेलको ८२ औँ मिनेटमा भण्डारीले हेडिङमार्फत् तेस्रो गरेकी थिइन् भने ८६ औँ मिनेटमा पौडेलले गोल गर्दै नेपाललाई ४–० गोल अन्तरले विजयी बनाई फाइनलमा पु¥याएकी थिइन् । पौडेल ६४ औँ मिनेटमा कप्तान निरु थापाको बदलामा मैदानमा प्रवेश गरेकी हुन् ।
नेपालले शुरुआतदेखि नै आक्रामक खेलेको थियो । आगामी शुक्रबार नेपालले दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
