एसईई परीक्षालाई मर्यादित बनाउन केन्द्राध्यक्षलाई अभिमुखिकरण

बिमला अधिकारी /लमजुङ, चैत –

चैत १० गतेदेखि हुने यसबर्षको एसईई परीक्षालाई मर्यादिन बनाउन केन्द्राध्यक्षलाई मंगलबार अभिमूखिकरण गराइएको छ ।

शिक्षा विकास तथा समन्वय समितिले तोकिएका १८ वटै केन्द्रका केन्द्राध्यक्षलाई अभिमूखिकरण गराएको हो । परीक्षालाई मर्यादित बनाउन, शान्त तथा व्यवस्थित बनाउन कार्यालयले केन्द्राध्यक्षहरुलाई आग्रह गरेको छ । केन्द्राध्यक्ष, निरीक्षक तथा कर्मचारी, शिक्ष्ँक, विद्यार्थी, अभिभावक सवैका लागि आचारसंहिता जारी भएकाले आचारसंहिता अनुरुप आ–आफ्नो काम गरी एसईई परीक्षालाई सफल बनाउन कार्यालयले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आचारसंहितामा बाँधिएर एसईई परीक्षालाई सफल बनाउन सवै लाग्नुपर्ने बताउनुभयो । कसैको सानो गल्तीले परीक्षा भाँडिन सक्ने भन्दै उहाँले परीक्षा केन्द्र परिवार, शिक्षक, अभिभावक, विद्यार्थी सवैले आ–आफ्नो दायित्व पूरा गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले परीक्षा विद्यार्थीको ग्रेडिङ नाप्न गरिने भएकाले यसमा चिटले खासै महत्व नराख्ने र कक्षाकोठामा चिट भेटिए परीक्षा दिन नपाउनेसम्मको व्यवस्था भएकाले चिट नचोर्न र नचोराउन चेतावनी दिनुभएको छ ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक यादव ढकाल, बेंसीसहर नगरपालिका शिक्षा शाखा प्रमुख, उपसचिव गोविन्दराज पोखरेल, नेपाल शिक्षक महासंघका अध्यक्ष तीर्थ नेउपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष आश गुरुङ लगायतले एसईई परीक्षालाई शान्त, मर्यादित र व्यवस्थित तवरबाट सम्पन्न गराउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नारायण रेग्मीले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । सवै शिक्षक , विद्यार्थीलाई स्कुल पोषाकमै परीक्षा दिन आउन आग्रह गर्नुभयो । परीक्षामा कसैले चिट चोरेको वा चोराएको थाह पाएमा सजाय हुनसक्ने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यसबर्ष सामुदायिक ७९ र निजी २१ गरी १ सय विद्यालयका २ हजार ९ सय ९० परीक्षार्थीले एसईई दिँदैछन् । १ हजार ६ सय १४ छात्रा र १ हजार ३ सय ७६ छात्र छन् । ग्रेड बृद्धिका लागि ३० जना परीक्षार्थी सहभागि हुनेछन् । सहायक केन्द्राध्यक्ष २१ जना तोकिएका छन् । सहायक कर्मचारी र कार्यालय सहयोगी १/१ जना छन् । १८ परीक्षा केन्द्रमा १ सय ५० जना निरीक्षक रहने कार्यालयले जनाएको छ । २ सय ५० परीक्षार्थी भन्दा बढी केन्द्र रहेका ३ केन्द्रमा सहायक केन्द्राध्यक्ष थप गरिएको कार्यालयका प्राविधिक सहायक सुरेन्द्र मण्डलले बताउनुभयो ।