
श्रम स्वीकृति लिन यतिसम्म सास्ती
जनकपुर, ५ चैत –
संघीय सरकारले पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्यो। जनकपुरको क्याम्पस चोकमा पनि श्रम तथा रोजगार कार्यालय खुल्यो । प्रदेश २ बाट वैदेशिक रोजगारमा जानेहरू खुसी भए ।

यहाँबाट पहिलो श्रम स्वीकृति धनुषा धनौजी-५ का मोहम्मद जिलानी मोमिमनलाई १० मिनेटमै दिइएको थियो । उनलाई श्रम विभागका महानिर्देशक उदयकुमार गुप्ता र जनकपुर कार्यालयका निमित्त प्रमुख मनोजकुमार यादवले फूलमाला लगाई मिठाई खुवाएका थिए । तर, आइतबार बिहान ९ः२५ बजे कार्यालयमा सेवाग्राहीको सास्ती हेरिनसक्नु थियो । एक सातासम्म पनि काम नबनेपछि उनीहरू हैरान थिए ।
रोजगारी टुट्ला कि भन्ने चिन्ता उनीहरूमा देखिन्थ्यो । उनीहरू राति २ बजेदेखि लाम लाग्छन् । रौतहट गौरका प्रवीण यादव राति ३ बजेदेखि लाइन लागे । उनी शनिबार साँझ जनकपुर आएका थिए । उनलाई तुरुन्त साउदी उड्नु छ तर काम हुने छाँटकाँट थिएन ।
महोत्तरी मगरथानाका २४ वर्षीय नजामुद्दिन मलेसिया जानु छ । उनी बिहान ५ बजेदेखि लाइनमा थिए । चार दिनसम्म उनको काम बनेको छैन । टोकन लिएपछि उनलाई कर्मचारीले ‘आजभोलि’ भन्दै टार्दै आएका छन् । धनुषाको वीरेन्द्रबजार राधापुरका ४० वर्षीय शिव दास साउदी जाने तरखरमा छन्।
उनले चार दिनदेखि श्रम कार्यालय धाइरहेका छन् । पहिला फारम भरे, अर्को दिन टोकन लिए। त्यसपछि कर्मचारीले ‘आज काम हुँदैन, भोलि आउनू’ भनेर फर्काउने गरेको उनले सुनाए। ‘नोटिस टाँसेर हामीलाई फर्काइदिन्छ’, उनले भने, ‘हामीलाई यहाँ निकै समस्या छ।’
राधापुरकै सतन दासका अनुसार काठमाडौंमा एक दिनमै श्रम स्वीकृति बन्छ। ‘त्यहाँबाट श्रम कार्यालय मधेसमा आउँदा सहजै काम हुन्छ भन्ने सुनेको थिएँ’, उनले भने, ‘तर, यहाँ त चार दिनदेखि आउँछु–जान्छु कामै हुँदैन।’
जनकपुरका २६ वर्षीय बिक्कीकुमार दास मलेसिया फर्किनु छ। ‘सानोतिनो कुरामा पनि झमेला छ’, उनले भने, ‘कुनै मिस्टेक छ भने सच्याएर ल्याऊ भन्छन्। सच्याएर ल्याउँदा ढिलो भयो भन्छन्।’ यसले गर्दा कतिपयको हवाई टिकट गुमेको उनको भनाइ छ। ‘टोकन दिन्छन् तर कर्मचारीले वास्तै गर्दैनन्’, उनले भने।
बिहान १० बजेसम्ममा भीड थेगिनसक्नु थियो। कोही भोलि बिहानै उड्नु छ, कोही दुई दिनपछि। तर, श्रम स्वीकृतिका लागि चार दिनपछि आउन कार्यालयले टोकन दिएको छ। समयमा कर्मचारी नआएको देख्दा उनीहरू आक्रोशित देखिन्थे। घाम एकाबिहानै चर्को लागेको थियो।
आधा रातदेखि लामबद्ध सेवाग्राही आकुलव्याकुल देखिन्थे। न खानको ठेगान न त पानीको प्रबन्ध। भर्खरै सारिएको कार्यालय अस्तव्यस्त देखियो। श्रम कार्यालय एक साताअघि क्याम्पस चोकबाट दुई किलोमिटरपूर्व कपिलेश्वरचौरीस्थित गणेश पार्टी प्यालेसको भवनमा सारिएको छ।
आइतबार मूल गेट बन्द थियो। कार्यालयभित्रका चापाकल, शौचालयसम्म पुग्ने बाटो थिएन। सेवाग्राहीहरू शौचका लागि कार्यालयनजिकै खुला ठाउँमा गइरहेका समाचार अाजकाे अन्नपूर्ण पाेष्टमा छ ।
