
पत्रकार सम्मेलन गरेर डा. भट्टराईले अगाडि सारे यस्ता माग
काठमाडौं, ४ चैत ।
नयाँ शक्ति नेपालले नेत्र विक्रम चन्द नेतृत्वको नेकपामाथि सरकारले प्रतिवन्ध लगाएको निर्णयको विरोध गर्दै वार्ताबाट राजनीतिक समाधान निकाल्नुपर्ने बताएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सो धारणा सार्वजनीक गरेको हो ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. भट्टराईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका पुर्व माओवादी नेता डा भट्टराइले देशमा बेरोजगारी बढदै गएको, भ्रष्टाचारका कारण विद्रोहको अवस्था कायमै रहेको अवस्थामा चन्द नेतृत्वको नेकपालाई दमन गर्ने सरकारको नीति गलत भएको प्रतिक्रिया दिए ।
उनले चन्द नेतृत्वको नेकपालाई दमन नगरी समस्याको समाधान गरेर जनताबाट उनीहरुलाई अलग्याउने नीति लिन पनि सरकारलाई सुझाव दिनुभयो ।
संयोजक भट्टराईले अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरे । राजनीतिक आन्दोलनको क्रममा भएको घटनालाई लिएर जनताबाट निर्वाचित सांसदलाई जन्मकैदको फैसला गर्नु असंगत भएको उल्लेख गर्दै डा भट्टराइले यसलाई राजनीतिक रुपले समाधान गर्दै चौंधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे ।
नयाँ शक्ति पार्टी, नेपालले आमाको नाममा नागरिकता पाउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएको छ । संयोजक भट्टराईले सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकप्रति आपत्ति जनाउँदै त्यसमा आमाको नाममा नागरिक पाउने व्यवस्था तत्काल गर्न पनि सरकारको गम्भीर ध्यनाकर्षण गराए ।
