
जातीय छुवाछूत अन्त्यका लागि दुइ युवाको नेपाल पैदलयात्रा शुरु
कञ्चनपुर, ४ चैत
जातीय छुवाछूत अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले कञ्चनपुरको भीमदत्तनगर बजारको मदन चोकबाट आइतबारदेखि ‘नेपाल पैदलयात्रा २०७५’ शुरु गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पैदलयात्राका सहभागीलाई फूलमाला र खादा ओढाइ ब्यानरमा हस्ताक्षर गरेर यात्रा उद्घाटन गरेका थिए ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जातीय छुवाछूत अन्त्यका लागि पैदल यात्रमामा सहभागी दुवैलाई स्वागत गर्दै व्यावहारिक रुपमा जातीय छुवाछूत अन्त्यका लागि आफूहरू पनि प्रतिबद्ध रहेको बताए ।
यात्रामा सहभागी हुने आचार्य र दर्नाललाई बाजा गाजासहित भीमदत्त नगर बजार परिक्रममा समेत गराइनाका साथै बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले स्वागत गरेका थिए ।
सामाजिक न्यायका लागि पश्चिमको कञ्चनपुरबाट शुरु गरिएको पैदलयात्रा ४५ दिन लामो हुनेछ । एक हजार ३२१ किलोमिटर पैदलयात्रा गरी गाउँगाउँमा पुगेर विभेदबारे सचेतना फैलाउने र विभेद गरिनाको कारणबारे स्थानीय बासिन्दासँग छलफल गरिने जनाइएको छ ।
पदयात्राको क्रममा सामान्य नागरिकदेखि, गाउँपालिका प्रमुख, प्रशासन विद्यालय, सार्वजनिक ठाउँमा पुगेर जातीय उत्पीडनमा परेकाको कथा सुन्दै जनचेतना जगाइने पैदलयात्रीद्वयले बताए ।
