२०७६ सालमा जम्मा १५ दिन सार्वजनिक विदा(सूचीसहित)

काठमाडौं , २ चैत्र –

वि.स २०७६ सालमा सरकारले १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालमा १५ दिनमात्र सार्वजनिक बिदा दिएको हो ।

सरकारद्वारा जारी सूचनाका अनुसार बैसाखमा सरकारले नयाँ बर्षको बिदा भन्दै १ गते बिदा दिएको छ । यसैगरी विश्व मजदुर दिवसका दिन बैसाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिएको छ ।

त्यस्तै जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ । यता असार, साउन र भदौ महिनामा भने एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छैन ।

असोज ३ गते शुक्रबार संविधान दिवसको दिन सार्वजनिक विदा दिइएको छ । असोजमै १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ ।

कात्तिक महिनामा तिहारका लागि तीन दिन विदा दिएको छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको हो ।

मंसिर, पुस र माघ महिनामा पनि सार्वजनिक विदा छैन । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ ।

त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ । चैत महिनामा पनि सार्वजनिक विदा छैन ।