चाडबाडमा मात्रै हाेइन अनुगमन निरन्तर गर्नुस् : मन्त्री यादव
काठमाडौं, १ चैत ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा यादवले चाडवाड मात्रै नभई निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
‘पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै नै बेथिति देखिएकाले यसको पनि नियमित अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय सहयोग गर्न तयार छ,’ मन्त्री यादवले भने । रकमको हिसाबले धेरै थोरै जति भएपनि उपभोक्तालाई ठगी गर्नेहरु भ्रष्टाचारी भएको उल्लेख गर्दै उनले त्यस्ता व्यक्ति र निकायलाई कानूनी कारवाहीको दायरामा ल्याउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
त्यस्तै, विभागका महानिर्देशक योगेन्द्र गौचनले गएको कात्तिकदेखि नयाँ ऐन कार्यान्वयनमा आएपछि अनुगमन अधिकृतहरुलाई बजार अनुगमन गर्न सहज भएको बताए । नयाँ ऐनअनुसार अनुगमन अधिकृतले गलत साबित गरे आवश्यकतानुसार पाँच हजारदेखि तीन लाखसम्म अनुगमनकै क्रममा रकम असुल गर्न पाउने व्यवस्था छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सबै स्थानीय तहमा उपभोक्ता सचेतना केन्द्र स्थापना हुनुपर्नेमा जोड दिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवकोे हालसम्ममा एक सय पाँच व्यवसायको अनुगमन गरी कारवाही स्वरूप २५ लाख असुल गरेको छ ।
सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सबैको सरोकार भन्ने’ मूल नारा राखीएको छ ।