
गृहले गर्याे ५० प्रतिशत कैद भुक्तान गरेमा बाँकी कैद मिनाहाको प्रस्ताव
काठमाडौं, १ चैत ।
सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुलाई बाँकी कैद छुट दिन सक्नेगरी फौजदारी संहिता संशोधन गर्न लागेको छ ।

कारागारको क्षमता कम भएका कारण कैद छुट पाउन सक्ने अपराधमा संलग्नहरुलाई ५० प्रतिशत कैद भुक्तान गरेको भए बाँकी छुट दिन सक्नेगरी फौजदारी संहिताका केही प्रावधान संशोधन गर्न लागिएको गृहमन्त्रालयका सचिव प्रेमकुमार राइले जानकारी दिए ।
कारागारको दुरावस्थाका कारण फौजदारी संहिता परिवर्तन गर्न लागेका छौं, गृहसचिव राईले बिहीबार संसदको राज्य ब्यवस्था तथा सुशासन समितिमा भने –‘५० प्रतिशत कैद कसैले भुक्तान गर्छ भने ५० प्रतिशत छुट दिन सक्नेगरी संशोधन प्रस्ताव लगेका छौं ।’
अपराध संहितामा २५ प्रतिशतसम्म छुट दिन सक्ने ब्यवस्था छ । यहि व्यवस्थाले कारागारको क्षमता भन्दा दोब्बर कैदी राख्नुपरेको उनको भनाइ छ । अहिले हामीसँग १२ हजार कैदी रहन सक्ने कारागारको क्षमता छ तर, १९ हजार पुगिसकेका छन्’ गृहसचिव राई भन्छन्, ‘फौजदारी संहिताले छुट दिन नसकेको कारणले डबल मान्छे राखिराखेका छौं ।’
सरकारले विशेष अवशरमा समेत कैदीहरुलाई छुट दिने गरेको छ । त्यस्तो विशेष अवसरमा ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई ६० प्रतिशतसम्म कैद छुट दिने व्यवस्था रहेको गृहसचिव राईले बताए ।
