
जनयुद्धमा शहादत हुने सबैलाई राष्ट्रिय सहिद घाेषणा गरिन्छ – प्रचण्ड
काठमाडौं , ३० फागुन –
नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्वमा शहादत भएका सबैलाई राष्ट्रिय सहिद घाेषणा गरीने बताएका छन् । अाफूले पहिलाेपटक प्रधानमन्त्री भएपछि त्यस सम्वन्धी निर्णय गरेकाे तर मन्त्री परिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशित हुन नसक्दा अहिलेसम्म उहाँहरूलाई शहीदकाे रूपमा नलेखीएकाे उनले बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा उनले त्यसबारेमा प्रधानमन्त्रीसँग कुरा भईसकेकाे बताए । प्रचण्डले विप्लवले प्रचण्ड बन्ने नक्कल गरेकाे बताउँदै उनले एक युगमा एउटा मात्र प्रचण्ड हुन सक्ने बताए । ‘प्रचण्ड त्यसै बनेको हैन,’ उनले विप्लव तर्फ लक्षित गर्दै भने, ‘जनताको काम गर्दै बनेको हो ।’
विप्लव समुहले आफुलाई मार्ने सूचिको पहिलो नम्वरमा राखेको भन्दै उनीहरुप्रति दया लागेको उनले बताए । हत्या हिंसा गरेर अर्काे सामन्तवाद र प्रतिगमन ल्याउन त खोजेका हैनन ? भन्दै उनले विप्लव समुहलाई गम्भीर भएर सोच्न आग्रह गरे ।
सरकार कानुन अनुसार अघि बढ्ने भन्दै उनले कानुन सबैले मान्नु पर्ने बताए । उनले देशका लागि योगदान गर्ने शहिद सदैब स्मरणीय रहेको र उनीहरुको सम्झनामा स्मारक बनाइने उल्लेख गरे । सहिद तथा वेपत्ताका परिवारलाई कार्यक्रममा प्रचण्डले सम्मान गरेका थिए ।


