कलङ्की–महाराजगञ्ज सडक विस्तार शुरू, यस्तो बन्दैछ

काठमाडौँ, २८ फागुन ।

चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्डको कलङ्की–महाराजगञ्ज विस्तारको तयारी सुरु भएको छ । यस खण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) को काम भइरहेको सडक विभागले जनाएको छ ।


“चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार गरिने यस खण्डको डीपीआरको काम चीनले शुरु गरिसकेको छ, चालु आर्थिक वर्षभित्र योे काम सम्पन्न हुनेछ” सडक विभागका उपमहानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।
डीपीआर तयार भइसकेपछि त्यसको प्रतिवेदन चीनले नेपाल सरकारलाई बुझाउने छ र विस्तृत छलफल गरेर अन्तिम रूप दिएपछि विस्तार कार्यलाई अगाडि बढाइने पनि उनले बताए उनका अनुसार चिनियाँ पक्षले चक्रपथको यस खण्डको डीपीआर तयार गर्नुका साथै प्रारम्भिक अध्ययन समेत गरिरहेको छ । प्रारम्भिक अध्ययन प्रतिवेदनलाई समेत समेटेर डीपीआर तयार गरिने छ । कलङ्की–महाराजगञ्ज–कोटेश्वर खण्डको कूल लम्बाइ १७ किलोमिटर छ ।
प्रारम्भिक अध्ययन र डीपीआर निर्माणको क्रममा नेपालको सन्दर्भमा सडक चिह्न, आकाशे पुल, जेब्राक्रसिङलगायत विभिन्न ट्राफिक नियमबारे विशेष ध्यान दिन चिनियाँ पक्षलाई आग्रह गरिएको बताउँदै उपमहानिर्देशक शर्माले कोटेश्वर–कलङ्की खण्डमा देखिएका केही समस्या यस खण्डमा नआओस् भनेर नेपाल पक्ष सचेत रहेको स्पष्ट पारेे ।

सडक विभागका अनुसार, कलङ्की–महाराजगञ्ज खण्ड विस्तारको क्रममा सडकको बीच भागमा हरियाली सहितको मध्यखण्ड राखेर डीपीआर तयार गर्न चिनियाँ पक्षलाई नेपाल पक्षबाट सुझाव दिइएको थियो । 
रातिको समयमा चालकको आँखामा विपरीत दिशाबाट आइरहेको सवारी साधनको बत्तीको प्रकाश पर्ने गरेको हुनाले यस खण्डमा ‘मेडियन’ राखिने भएको छ । कोेटेश्वर–कलङ्की खण्डमा ‘मेडियन’ राखिएको छैन ।
हट्न सकेनन भौतिक संरचना
कलङ्की–महाराजगञ्ज चक्रपथखण्डको क्षेत्रभित्र रहेका भौतिक संरचना हटाउन काठमाडौँ चक्रपथ सुधार आयोजनाले गत साउन महिनामा नै सार्वजनिक सूचना जारी गरे पनि अहिलेसम्म हट्न सकेका छैन । 
सडक विभागका उपमहानिर्देशक शर्माले कलङ्की–महाराजगञ्ज चक्रपथखण्डको क्षेत्रभित्र रहेका भौतिक संरचना हटाउन आयोजनाले पुनः सूचना जारी गर्ने तयारी गरिरहेको जानकारी दिए । 
चीनको वाणिज्य मन्त्रालयले सन् २०१८ को जुन महिनासम्म उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग लिखित आग्रह गरेको थियो । 
चक्रपथको कलङ्की–महाराजगञ्ज खण्ड विस्तारको लागि नेपाल सरकार (अर्थ मन्त्रालय) र चीन सरकारबीच सहमतिपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको सडक विभागले जनाएको छ । कलङ्की–महाराजगञ्ज खण्डको लम्बाई ८.२ किलोमिर रहेको खबर गाेरखापत्रमा छ ।