जनमत संग्रह हुनै सक्दैन – प्रधानमन्त्री

काठमाडौं, २७ फागुन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । केही दिन अघि सिके राउतसँग भएको सहमतिमा जनमत संग्रह गर्ने विषय रहेकाे र सरकार असफल भएको भन्दै सिके राउत पक्षले हल्ला गरेपछि प्रधानमन्त्री अाेलीले साे धारणा सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भएपनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारेका छन् । ‘पृथकतावाद सानो भएपनित्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्वदिएर नै निस्तेज पारेको हो’, प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अखण्डताका बिषयमाजनमत संग्रहहुनै सक्दैन । यस बिषयमा कसैले चिन्तानगरे हुन्छ ।’

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुंदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताएका छन् । ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्’ प्रधानमन्त्री ओलीले भने’, राष्ट्रि अखण्डता र सार्वभौम सत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।’

विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘देशको शान्ती सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधी सरकारलाई मान्य हुदैनन्’ प्रधानमन्त्री ओलीले भने, ‘कोही मृत संस्थाजिवीत गराउने सपना देख्छन्, कोही क्रान्तीका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ति दुवै कुराहरुलाई निस्तेज पारिन्छ ।’

देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।