सिके राउतकाे पछिल्लो गतिविधिपछि नेकपा प्रवक्ता श्रेष्ठले भने- याे त असह्य भयाे

काठमाडौं, २७ फागुन –

सिके राउतले सरकारसंग गरेको ११ बुंदे सम्झौताको उल्लङ्घन गरेकोप्रति नेकपाका प्रवक्ता तथा पुर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले गम्भीर आपत्ति जनाएका छन। 

सामाजिक सञ्जाल ट्विटरमा धारणा सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन् याे त असह्य भयाे ।

फागुन २५ गते सरकारसंग ११ बुंदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको घोषणा गरेका राउतलाई उनका कार्यकर्ताले संयोजक ‘स्वतन्त्र मधेस’ लेखिएको झण्डा देखाएर जनकपुरमा स्वागत गरेपछि सरकारको नेतृत्त्व गरेको नेकपाका प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै आपत्ति जनाएका हुन। 

सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका श्रेष्ठले जनकपुरमा स्वतन्त्र मधेशको नारा लाग्नु गम्भीर भएको भन्दै आइतबार ट्वीट मार्फत  भनेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्बभौमिकता र अखण्डताको बिरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र किन भैरहेछ? यो हद भयो, असह्य भयो। बिखण्डनकारी गतिबिधिको अन्तको निम्ति सम्झौता कि बिखण्डनबादलाई बैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नु पर्छ।गम्भीर बनौं।’    

सरकारसंग ११ बुंदे सम्झौता गरेपछि जनकपुर पुगेर राउतले गरेको गतिबिधिका कारण सरकारको आलोचना बढेको छ। राउतले अाफ्ना कार्यकर्ताले स्वतन्त्र मधेशकाे नारा लगाएर गतिविधि गरिरहँदा कुन‌ै नियन्त्रण नगर्नुले उनी सरकारसँग गरेकाे सहमति उलंघन गर्न उद्वत देखिन्छ ।