देश विखण्डनकाे मुद्दा नै छाडेपछि सहमति गर्नु कसरी गलत भयाे ?- गृहमन्त्री

काठमाडौं , २७ फागुन –

गृहमन्त्री रामबहादुर थापाले फागुन २४ गते सरकार र सिके राउतबीच भएको राजनीतिक सहमति सहि नै भएको बताएका छन् । उनले सहमतिलाई गलत अर्थ लगाइएकोप्रति आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकार र सिके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री थापाले सरकारको तर्फबाट संसद्मा सहमतिबारे स्पष्ट पारेका हुन् ।

उनले भने,’स्वतन्त्र मधेसी गठबन्धन यो निर्णयमा पुग्नु संविधान विरोधी भयो ? सहमति गर्नु के यो संविधान विरोधी हो ?’

उनले मुलुकका चुनौतीहरूलाई सरकारले  सफलतापूर्वक समाधान गर्दा विभिन्न कोणबाट अनर्थ लगाइएकोप्रति सरकार आश्चर्यचकित भएको बताए । उनले राजनीतिक समस्यालाई राजनीतिक रूपबाट हल गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउँदै, त्यही प्रयासको प्रतिफल २४ गतेको सहमति भएको बताए ।

गृहमन्त्री थापाले स्वतन्त्र मधेस गठबन्धन समूहले नेपाललाई विखण्डन गर्ने उद्देश्यलाई परित्याग गरेको दाबी गरे । उनले मधेस गठबन्धनसँग नेपालको राजनीतिक अखण्डता,स्वाधीनता रक्षा गर्न सहमति जुटेको बताए ।

‘मुलुकमा दुईवटा समूहहरू सक्रिय थिए । एउटा राज्य व्यवस्थाप्रति असन्तुष्ट जनाउने र अर्को विखण्डनको मुद्दा उठाउने,’ गृहमन्त्री थापाले भने, ‘ती समूहहरू निरन्तर रूपमा सक्रिय रहँदै आएका थिए । त्यही क्रममा स्वतन्त्र मधेस गठबन्धनको नाममा एउटा समूह सक्रिय थियो । यस्ता समूहहरूलाई नियन्त्रण गर्ने प्रयासस्वरुप स्वतन्त्र मधेस गठबन्धनसँग राजनीतिक सहमति जुट्यो । ‘