मर्दीखोलाको पानी पाेखरेलीलाई : भयाे महत्वपूर्ण सम्झौता

काठमाडौं, २६ फागुन ।

पोखराको मर्दीखोलाको पानी शुद्धीकरणका लागि महत्वपूर्ण सम्झौता भएको छ । नेपाल खानेपानी संस्थान र निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच भएको द्विपक्षीय सम्झौतामा पोखराको मर्दीखोलालाई प्रशोधन गरेर शुद्धीकरण गरिने र पिउनका लागि योग्य बनाइने उल्लेख छ ।

पोखरा क्षेत्रको खानेपानी सुधारका लागि जापान सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप ४ अर्ब ८१ करोड रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियोे । यो अनुदान रकम सिभिल ठेक्काको लागि दिइएको संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आव्हान भएको थियोे । जसमध्ये हाजमा कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो ।

संस्थानको तर्फबाट महाप्रबन्धक डा. भूपेन्द्रप्रसाद र कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर हिदेकी ओइसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । खानेपानीको क्षेत्रमा यो नै अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको महाप्रवन्धक डा. भूपेन्द्र प्रसादले बताए । यति धेरै रकम १३ वर्षको प्रयासपछि पहिलोपटक नेपालले प्राप्त गरेको महाप्रवन्धक प्रसादले बताए ।

सम्झौताअनुसार प्रतिदिन ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने भएको छ भने खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने छ । त्यस्तै खानेपानी भण्डारण गर्न ३ वटा पानी पोखरी निर्माण गरिनेछ । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।