
रेशम चाैधरीलाई जन्मकैदकाे फैसला पछि राजपाकाे यस्तो निर्णय, के हाेला सांसद पद ?
काठमाडौं, २३ फागुन – कैलालीमा प्रहरीसहितकाे ज्यान जाने गरि भएकाे हिंसात्मक दंगामा दाेषी ठहर गर्दै जिल्ला अदालत कैलालीले सांसद रेशम चाैधरिलाई जन्म कैदकाे फैसला सुनाएपछी राजनीतिमा नयाँ तरंग अाएकाे छ ।

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राजपाको बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले विज्ञप्ति जारी गर्दै आजैका दिनदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरीलगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजिवन काराबासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत तुल्याएको छ ।’
दुई तिहाई बहुमत हुँदाहुँदै पनि संविधान संशोधन नगरेको, मधेश र थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ नगरेको, उनीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता नलिएको, घाइतेहरुको उपचार नगराएको, बेरोजगारी समस्याको समाधान, महंगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नगरेको, असीना एवम् बाढीपीडितलाई राहत नदिएको, निर्मला पन्तको लगायतको बलात्कारी र हत्यारालाई कारवाही नगरेको, शान्ति सुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको, राज्यको हरेक अंगमा दलीय हितको पक्षपोषण गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने नियत देखिएको भन्दै सरकारको एकवर्षे कार्यकाल पूर्णतः असफल रहेको पनि बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यसर्थ सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेकाले राजपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ ।’
के हुन्छ सांसद चाैधरीकाे पद ?
अदालतले हत्या अभियाेग सावित गर्दै फैसला सुनाएपछि सांसद पद के हुन्छ भन्ने बहस शुरू भएको छ । संविधान अनुसार कुनै अभियाेग प्रमाणीत भएमा स्वतः पद खारेज हुने केहीकाे तर्क छ भने केहीकाे भने अन्य अदालतकाे प्रकृया बाँकी नै रहेकाले पद निलम्बन मात्रै हुने तर्क छ ।
