कानुनी रुपमा सिण्डिकेट अन्त्य भइसक्यो : गृहमन्त्री बादल

धनगढी, २२ पफागुन ।
गृहमन्त्री रामबहादुर थापा बादलले कानुनी रुपमा यातायातमा रहेको सिण्डीकेटको अन्त्य भइसकेको बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि आज बिहान धनगढी पुगेका गृहमन्त्री थापाले सो बताएका हुन् । उनले भने संसदमा यससम्बन्धी केही कानुन बन्ने क्रममा छन्, त्यसपछि सिण्डिकेट पूर्ण रुपमा अन्त्य हुन्छ ।’ सरकारले सिण्डिकेटको अन्त्य गर्न नसकेको टिप्पणी आइरहेका बेला उनले सिण्डीकेट चलनमा रहेको देखिएको भएतापनि यो प्रक्रियागत रुपमै अन्त्य हुँदै गएको बताए ।

नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री बादलले केही समयता भइरहेका ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको पनि बताएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीप्रति सरकार कडा रुपमा प्रस्तुत हुने संकेत गर्दै गृहमन्त्री थापाले भने, ‘केही समूहले गरिरहेको बम विस्फोटजस्ता गतिविधिप्रति सरकार गम्भीर छ । यस्ता गतिविधिलाई सरकारले छिटोभन्दा छिटो नियन्त्रणमा लिन्छ ।’

कञ्चनपुरकी किशोरी निर्मला पन्त हत्या घटनाको सुरुमा सरकारका केही निकायको लापरबाहीका कारण अनुसन्धानमा जटिलता पैदा भएको उनले बताए । घटनाको अनुसन्धान जारी रहेको उल्लेख गर्दै गृहमन्त्री थापाले पन्तका हत्यारालाई कानुनको कठघरामा उभ्याएरै छोड्ने प्रतिबद्धता जनाए ।

संघीय र प्रदेश प्रहरी गठन सम्बन्धी कानुनको मस्यौदा संसदमा रहेको जानकारी गराउँदै उनले उक्त कानुन पारित भए प्रदेश र स्थानीय तहमा शान्ति, सुरक्षा कायम गर्न अझ सहज हुने बताए ।

सरकारले एक वर्षको अवधिमा संघीयता कार्यान्वयनको आधारभूत संरचना निर्माण गरेको थापाले जनाए । उनले भने, ‘संघीयता कार्यान्वयनका आधारभूत संरचना खडा गर्ने काम भएको छ । संविधानले तोकेका केही कानूनहरु संसदको यही अधिवेशनले बनाएपछि संघीयता कार्यान्वयनले पूर्णता पाउँछ ।’