पार्टी एकिकरणबारे प्रचण्डकाे पछिल्लो खुलासा

बिराटनगर, २१ फागुन –

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आन्तरिक एकीकरणमा केही ढिलाई भएको तर नरोकिने बताएका छन् ।

सोमबार बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी एकताको काम टुंगोमा पुर्‍याउने प्रयास भइरहेको बेला हेलिकप्टर दुर्घटना हुनु र दुई जिम्मेवार नेताको निधनले ढिलाई भएको बताएका हुन ।  

अध्यक्ष प्रचण्डले अहिले प्रदेश कमिटीको प्रस्ताव करिब टुंगिएको छ । आफू काठमाडौ फर्के लगत्तै पार्टी एकताको सबै काम सम्पन्न गर्ने योजना रहेको उनले बताए । प्रचण्डले देशमा स्थायित्व, विकास र समृद्धि भएको हेर्न नचाहने शक्तिहरुले पार्टी एकता हुन नदिन सक्दो प्रयास गरिरहेको भन्दै उनीहरुको अवरोधको प्रयास असफल हुने दाबी गरे । उनले भने, ‘पार्टी एकता सफल हुन नदिनेको हरेक प्रयासलाई दुई अध्यक्षसहितको नेतृत्वले असफल बनाइदिने छौँ ।’   

प्रचण्डले विप्लव नेतृत्वको माओवादीले गर्न थालेको  हतियारको प्रयोग सरकारले नियन्त्रण गर्ने बताए । ‘देशमा शान्ति, स्थायित्व र परिवर्तन संस्थागत हुँदै गइरहेको र कम्युनिष्टको नेतृत्वमा सरकार भएको बेला हतियारको राजनीतिको अभ्यास गम्भीर विषय भएकाले  नियन्त्रण गर्नेछ,’ प्रचण्डले भने ।  

तत्कालीन समयमा माओवादी  क्यान्टोन्मेन्टमा भएका सबै हतियारको व्यवस्थापन भएकाले लुकाएका हतियार फेला परेमा लुकाउनेले नै जिम्मा लिनुपर्छ, प्रचण्डले भने । सरकारको मन्त्रिमण्डल फेरबदल गर्नेबारे चर्चा भए पनि दुई अध्यक्षबीच कुराकानी नभएको जानकारी गराएका थिए । उनले राजपाले तत्काल सरकारको सर्मथन फिर्ता नलिने र संघीय समाजवादीसँग पनि सहमती हुने दाबी गरे ।