राहत शिक्षककाे अान्दोलनमाथि प्रहरी दमन : थुप्रै घाइते

काठमाडौं, १९ फागुन –

सरकारी विद्यालयका राहत शिक्षककाे अान्दोलनमा प्रहरीले दमन गरेको छ । राहत शिक्षक र प्रहरीबीच अाईतबार वानेश्वरमा झडप भएको हाे । झडपमा प्रहरी दमनमा परी केही शिक्षक घाइते भएको आन्दोलनरत शिक्षकले बताएका छन् ।

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । ती शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरण गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् ।

माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका शिक्षकहरु वानेश्वर पुगेपछि प्रहरीसँग झडप भएको थियो । वानेश्वरमा प्रहरीले रोकपछि नारावाजीमा उत्रेका उनीहरुलाई पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानिएको थियो ।

पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि लाठी प्रहार गरिएको थियो । आन्दोलनरत राहत शिक्षक दीपक सिटौलाले भने, ‘थुपै्र शिक्षक घाइते भएका छन् । केहीको टाउकोमा चोट लागेको छ । केहीको खुट्टा समेत भाँचिएको छ । भीड तितरबीतर भएका कारण कति घाइते भए भन्ने गन्न भ्याइएको छैन ।’

आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् । आइतबार मुलुकभरका राहत शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा सहभागी थिए ।