वाइडबडी प्रकरणमा ‘रवीन्द्र’ निर्दोष छन् : प्रधानमन्त्री ओली

काठमाडौं, १७ फागुन ।
प्रधानमन्त्री के पी ओलीले वाइड बडी प्रकरणमा भर्खरै दिवंगत भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी पुरै निर्दोष रहेको स्प्ष्ट पारेका छन् ।

हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को आज भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उनको बद्नाम गर्न खोजको बताए । “यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न अत्यन्तै अनुचित ढंगले वहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले वहाँलाई बद्नाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो ” प्रधानमन्त्री ओलीले भने ‘वहाँले कुनै लोभलालचका लागि होइन र वहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी वहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो । तर पनि नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।

वाइडबडीका बारेमा रबिन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि थपे ‘मलाई दुख लाग्छ कि वहाँ जस्तो कर्मठ, क्रियाशिसल मानिसलाई अनुचित ढंगले ,त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो ।’
मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधरण काम गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । छ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी,बिराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

तेह्रथुमको चुहानडांडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर अधिधारी त्यसतर्फ गएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने “ तेह्रथुमको चुहानडांडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ , निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता,अनुपयुक्तता छुट्याउने भनेर वहाँ जानुभएको थियो । ”

ढिलोमा तीबर्ष भित्र सो ठाउँमा बिमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले जानकारी दिएका थिए ।त्यसैगरी मन्त्री अधिकारी विमानस्थलहरुको अध्ययन भ्रमणकै क्रममा हिजो बिहिबार जमर्नीको म्यूनिखमा जाने कार्यक्रम रहेको पनि प्रधानमन्त्री ओलीले स्मरण गराए ।

प्रधानमन्त्री ओलीले अगाडि थपे ‘हिजो वहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने ,व्यवस्थित ढंगको एयरर्पोट ह्याण्डिलिङ बनाउने,वहाँहरुसँग सहकार्य गर्ने वहाँले योजना बनाउनु भएको थियो ।’
अधिकारीको निधनले पार्टी,सरकार र देशले एक कुशल नेता,मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीको भनाई थियो ।