गोपीकृष्ण पंगेनीको “मायाले मन बराल्छ” डिजिटल दुनियाँमा

हरि नेपाली, दुबई /

maya geet
कला र गलाको माध्यमबाट नेपाली साँगितिक दुनियाँमा आफ्नो अलग्गै छाप छोड्न सफल गायक गोपी कृष्ण पंगेनीले रोइला गीत “मायाले मन बराल्छ” डिजिटल दुनियाँ मार्फत सार्वजनिक गरेका छन् ।
सितारा म्युजिक प्रा लि मार्फत बजारमा ल्याएको उक्त गीतको रसिक तथा चटपटे शब्दहरुको शब्द तथा संगीत चर्चित सर्जक एक नारायण भण्डारीको रहेको छ भने गायक पंगेनीको आवाजमा गायिका देवी घर्तीले समेत साथ दिएकी छिन् ।
स्याङ्जाबाट आफ्नो सपनाको उडान भर्दै बैदेशिक रोजगारको सिलसिलामा दुबई आइपुगेका रसिक स्वभावका गायक पंगेनीले धेरै गीतहरु सार्वजनिक गरिसकेका छन् । सानै देखि गाउँमा भजन होस् या रोधी अथवा रत्यौली नै किन नहोस् गीत गाउन भनेपछि पुगिहाल्नु पर्ने आफ्नो स्वाभाव रहेको भन्न हिच्किचाउदैनन् । अन्र्तराष्ट्रिय कलाकार समाज, युएईका महासचिव समेत रहेका गोपी कृष्ण पंगेनी भर्खरै सार्वजनिक भएको रोइला गीत मार्फत आफ्नो सांगितिक यात्रा सुरु भएको बताउँछन् । फरक फरक स्वादका पारखी गायक पंगेनीको “म त परदेशी” नामक लोकगीत,“परदेशीको सम्झना” नामक सालैजो लगायत कैयौ चर्चित गीतहरु समेत श्रोताहरु माझ पस्किसकेकाछन् ।
परदेशी जीवन र कामको व्यस्तताका बावजुद पनि छुट्टीको समयमा प्रवासको सांगितिक माहौललाई सिँगार्न लागि पर्ने गायक पंगेनीलाई समाजसेवी समेत भन्दा फरक पर्दैन । भन्छन् – समाज र संगीत एक अर्काका परिपुरक हुनुपर्छ, एक अर्काबाट अलग्गिएर न त समाज रहन सक्छ न त संगीत नै । कलाकारिताको नाममा परदेशमा विभिन्न किसिमका विकृतिहरु भित्रिएकोले यसलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताउछन् ।
युएईमा कार्यरत प्रवासी नेपालीहरु वीच नेपाली संंगीतको संरक्षण र प्रवद्र्धन गर्न लागि परेका चर्चित लोक गायक गोपी कृष्ण आफ्नो पछिल्लो कोशेली रोइला गीत मायाले मन बराल्छ विगतका प्रस्तुतिहरु भन्दा अझ बढी सफल हुनेमा आशावादी देखिएका छन् ।