नवलपरासीका बाबुराम देबकोटा युएइमा अलपत्र

युएई – रोजगारीको लागि परदेशी भूमिमा आएका नवलपरासीका बाबुराम देबकोटा यतिबेला युएइमा अलपत्र छन्। कम्पनी बन्द गरी मालिकले पासपोर्ट लिएर भागेपछि उनी नेपाली दूतावासको शरणमा पुगेका छन्।
परिवारलाई सुखको साथ पाल्न र छोरीहरुलाई राम्रोसँग पढाउने सपना बोकेर उनी ६ अप्रिल २०१५ मा युएई आएका थिए। तर नेपालमा अामाको निधन हुँदा समेत स्वदेश फर्किन नपाएर उनी तनाबमा छन्।
युएईमा उनी एक्स फोर जनरल सर्भिस कम्पनीमा काम गर्दै आएका थिए। बाबुराम काम गर्दै गए तर उनको भिषा थपिएन। भिषा लगाउनको लागि कम्पनी मालिकसँग बारम्बार आग्रह गरे पनि भिषा लगाइदिने प्रलोभन देखाई मालिकले काम गराइरहे।

लगभग छ महिनासम्म काम गरे तर उनले कामको पारिश्रमिक पाएनन्। तलब पाएनन् भिषा पनि पाएनन्।

तलब पाउन छोडेपछि अक्टुबर २०१५ मा उनी र उनीसँगै अन्य दुई नेपाली काम छोडेर बस्न थाले। केही समय त भिषा लाग्ने र तलब पाउने आशमा थिए। यति नै बेला कम्पनी बन्द गरी पासपोर्ट लिएर मालिक भागे। त्यसपछि बाबुरामको युएइ बसाइ संकटमा पर्यो।

युएइ इमिग्रेसन र प्रहरीलाई रिपोर्ट दिए पनि नेपाल जान नपाएकोमा उनको दुखेसो छ। ‘गत चैत्रमा आमाको मृत्यु भयो’, देवकोटाले नागरीकन्युजसँग, ‘आमाको मुख नदेखे पनि बर्ष दिन भित्रमा घर पुगेर आमाको काजक्रिया गर्न मन छ।’

देवकोटा घरमा बुबा, श्रीमती र चार छोरी छन ।

नेपाल फर्काउनको केही पनि प्रमाण नभएकाले ढिलो र बढी समस्या भएको नेपाली दूतावासकी श्रम सहचरी हिरा यादवले बताउँछिन्। युएईको नियमअनुसार जाने हो भने अझै चार पाँच महिना समय लाग्ने उनले सुनाइन्। दूतावासले छिटै घर पठाउन काम गरिरहेको उनले बताइन्।