म्याग्दीका युवकको कुवेत पुगेको हप्तादिनमै मृत्यु

रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ। एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार शनिबार राति खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो । बिहान नउठेपछि उनीसँगै कुवेत पुगेका नेपालीले परिवारलाई निधन भएको खबर गरेका थिए । म्यानपावर कम्पनीमार्फत कानुनी प्रक्रिया पूरा गरेर कुवेत पुगेका तिलीजा कम्पनीमा काम सुरु गर्ने तयारीमा थिए ।

गरिबी, कमजोर पारिवारिक अवस्था, अस्थिरता र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन विदेश गएका तिलीजाको पुगेको हप्ता दिन नपुग्दै निधन भएपछि परिवार र आफन्तजन शोकमा डुबेका छन् ।शवलाई जतिसक्दो छिटो नेपाल ल्याउन पहल गरिदिन परिवारले कुवेतस्थित दूतावास, सम्बन्धित म्यानपावर कम्पनी र सरकारसँग आग्रह गरेका छन् । विवाहित तिलीजाका दुई सन्तान रहेका छन् । रासस