जापानको जंगलमा नेपालीको शव

काठमाडौँ,  ३  जेठ ।

कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षे बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जंगलमा भेटिएको छ ।

मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका आधारमा लामो अनुसन्धानपछि चिवा प्रहरीले आइतबार मात्रै शव पोखराका गुरुङ भएको पुष्टि गरेको हो । तीन साताअघिदेखि सम्पर्कविहीन भएका गुरुङको शव मृत्यु भई सडेर सनाखत गर्न नसकिने अवस्थामा गत बिहीबार भेटिएको थियो ।

प्रहरीका अनुसार गुरुङको घाँटीमा गहिरो दाग देखिएपछि डिएनए परीक्षण गरिएको थियो । डिएनए र परीक्षण रिर्पोर्टबाट आत्महत्या गरेको पुष्टि भएपछि शव आफन्तले जिम्मा लिएको प्रहरीले जनाएको छ ।

गुरुङले के कारणले आत्महत्या गरे भन्नेबारे खुल्न सकेको छैन । दुई छोराछोरी र श्रीमती रहेका गुरुङ हालैमात्र जापान आएकी श्रीमतीसँगै इवाराकीमा बस्दै आएका थिए । छोरा र छोरी पोखरा घरमै छन् ।

तमुधी जापानका पूर्वअध्यक्ष भीम गुरुङले मृतक गुरुङको शव मे २२ तारिख आइतबार बिहान ११ बजे जापानकै स्थानीय खासिवाको फुनेरल टान्सपोटेसन शव गृहमा अन्त्येष्टि गरिने जानकारी दिनुभएको छ । रासस