शिव परियार ,लण्डनमा प्रेमगीत गाउँदै

काठमाडौ, २० बैशाख ।

‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले…’, ‘बेहोसी पछि त होसमा आउँदा क्या दामी भो…’ जस्ता शिव परियारका गीत पिउने–पिलाउनेले बढी नै रुचाएका छन् । मायामा डुबेकाहरूलाई चाहिँ ‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल…’, ‘रित्तो रित्तो छु म…’ ले तानेका छन् ।

‘रूपौली रानी…,’ ‘कहाँ थियौ तिमी रंगमञ्च…’ जस्ता हिट नम्बर छन् परियारका । अहिले बेलायत रहेका यी गायकले पहिलो पटक एउटा नयाँ प्रेमगीत सार्वजनिक गरेका छन् । धेरैपछि उनले प्रेमगीत गाएका हुन् :
लगायौ माया साट्यौ नि मुटु
नभेटी नभेटी1
समुद्रपारी जोड्यौ नि दिल
नभेटी नभेटी…

श्वेता मैनालीले लेखेको र परियारले नै संगीत भरेको उक्त गीत उनको एघारौं एल्बम ‘शिवालय’ मा समावेश हुनेछ । गायकका अनुसार भौगोलिक हिसाबले टाढै रहेका प्रेमीप्रेमिकाको भावना गीतले समेटेको छ ।

लन्डनको उलविचमा हालै आयोजित आफ्नो सम्मान कार्यक्रममा उनले नयाँ गीतसहित हिट नम्बर सुनाइहाले । उनले दर्शकश्रोताहरूलाई कहिले भावुक त कहिले नाच्न बाध्य बनाए ।

नयाँ वर्ष कार्यक्रममा सहभागी हुन करिब तीन साताअघि बेलायत आएका परियार अझै केही समय यहाँ बस्नेछन् ।