कालिकाेट,१९ बैशाख ।karnali-khlaluकर्नाली राजमार्गको हुम्ला खण्ड जोड्ने खुलालु हिल्सा सडक खण्डमा झन्डै १४ करोड रुपैयाँमा बन्न लागेको खुलालु पुलको काम अहिलेसम्म पाँच प्रतिशतमै अड्किएको छ। २०६७ सालमा योजना सम्झौता भई ०६८ सालमै निर्माण सकिनु पर्नेमा अहिलेसम्म पाँच प्रतिशतमात्रै सम्पन्न भएको छ।

ठेकेदारको लापरबाहीका कारण राजमार्गका पुल निर्माण सुरु भएको ६ वर्षसम्म पनि बन्न नसकेको सडक डिभिजन कार्यालय कर्नालीका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए। उनका अनुसार पटकपटक निर्माण सञ्चालन गर्न र तोकिएको समयमै काम सक्न सम्बन्धित कम्पनीलाई ताकेता गरिएको छ।

अहिलेसम्म पुल निर्माण कार्य अधुरो छ। इस्टिमेट अनुसार काम भएको छैन। सम्झौताको समय सकिएको पनि तीन वर्ष भइसक्यो। तीन वर्षअघि सुर्खेत डिभिजनले ठेक्का लगाएको थियो। गत चैतमा पाँच प्रतिशत काम भएको अवस्थामा सडक डिभिजन कार्यालय कर्नालीलाई हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए।

उनका अनुसार तीन वर्षसम्म कुनै काम नभएकाले कन्सल्टेन्सीलाई ताकेता पत्र काटिएको थियो। ‘पत्र लेख्यौं, टेलिफोनबाट पनि जानकारी गरायौं, पत्रपत्रिकाबाट पनि सार्वजनिक सूचना जारी गर्यौं ,’ उनले भने, ‘बीचमा एकपटक सम्पर्कमा आएर अहिले फेरि हराएका छन्। कन्काई नेपाल प्रगति जेभीले पुलको ठेक्का लिएको हो। पुल निर्माणमा भइरहेको कामकोे मूल्यांकन गर्नयोग्य देखिँदैन।’ तीन वर्षसम्म उक्त पुलको पाँच प्रतिशतमात्रै काम भएको उनको भनाइ छ। कर्नाली राजमार्गको दैलेख खण्डको घट्टेखोलादेखि कालेखोला, खुलालु, टाकुल्ला र खल्लाघाट गरेर नौवटा पुल अलपत्र छन्। शेरीघाटको पुलमात्रै बनिसकेर प्रयोगमा आएको छ। अन्य सबैको निर्माण बाँकी छ। कालेखोला पुलको ९५ प्रतिशत काम सकिएको छ। घट्टेखोला पुल डिजाइन इस्टमेट परिवर्तन गर्नुपर्ने भएकाले ३० प्रतिशतमै प्रगति सीमित छ।

टाकुल्लामा दुईतर्फको पिलर उठाइए पनि अरु काम अघि बढेको छैन। ठेकेदारको लापरबाहीले ढिलाइ भएको र सम्पर्कमा नआएकाले काम अघि बढाउन नसकिएको भण्डारीले बताए। ‘सार्वजनिक सूचना आह्वानमार्फत काम अघि बढाउन पत्राचार गरिएको छ,’ उनले भने। यसैगरी खल्लागाड पुलको निर्माण ५० प्रतिशत सकिएको छ। पुलको डिजाइन नवीकरण गर्नुपर्ने भएकाले समयमै काम नभएको सडक डिभिजन कार्यालयले जनाएको छ।

‘अब सडक डिभिजन कार्यालयको निर्देशन नमान्ने कन्सल्टेन्सीलाई कारबाही गर्ने चेतावनी दिएका छौं,’ डिभिजन प्रमुख भण्डारीले थपे, ‘कन्ट्र्याक्टरको क्षमता कमजोर देखियो, जसले गर्दा तोकिएको समयमा पुल बन्न सकेनन्।’ कार्यालयले बारम्बार ताकेता र अनुगमन गरेर सुझाएको उनले बताए। कन्ट्र्याक्टरले चाहेको समयमा जुनबेला पनि काम गर्ने र नचाहेको बेला कामै नगर्ने गरेको उनको भनाइ छ।

यस्तै सिम्लेखोला पुल १६ महिनामा सक्ने गरी पुस मसान्तमा सम्झौता भए पनि अहिलेसम्म काम अघि बढेको छैन। वालिगाड पुल, छिजेना पुल निर्माणका लागि मेसिन ल्याइए पनि काम सुरु भएको छैन। सम्झौता भएको एक वर्ष बित्न लाग्दा पनि काम सुरु नहुँदा कहिले सम्पन्न हुन्छ, भन्न सक्ने अवस्था छैन। यस्तै स्थानीय सहायक मार्गमा बन्न लागेका पुल पनि एक वर्ष बितिसक्दा अपेक्षाकृत काम भएको छैन। जुम्लाको हिमानदी पुलको निर्माण ४० प्रतिशत सकिएको छ। ३६ महिनाको म्याद सकिसकेको छ। तिला नदीको पुल ३० प्रतिशत प्रगति भए पनि समयमै काम सुरु नहँुदा समस्यमा छ।

पुल निर्माण चाँडो सक्न दर्जनौं पटक ठेकेदार कम्पनीको तीनपुस्ते सहित सूचना प्रकाशित गरे पनि उनीहरुले वास्ता गरेका छैनन्। डिभिजन प्रमुख भण्डारीका अनुसार सूचना निस्केपछि ठेकेदार सम्पर्कमा आएर समयमै काम सक्ने प्रतिबद्धतासहित निवेदन दिने गरे पनि पछि हराउने गरेका छन्। ‘अब हामी ठेक्का तोड्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउछौं,’ उनले भने, ‘हर्जना लगाउने र म्याद थप्ने काम पटकपटक भए। अब सार्वजनिक खरिद ऐन, नियमावली र सम्झौता अनुसार कारबाही गर्छौं।’ ठेकेदारले ठूला फर्मको नाम लिएर स्थानीय प्रतिनिधि, बैंक ग्यारेन्टीसहित आउने भए पनि पछि लापरबाही गर्दै आएका छन्। कर्नालीका पुल अयोग्य ठेकेदारका कारण अलपत्र परेको डिभिजन कार्यालयले जनाएको छ। ‘कर्नालीमा चिसो लगायत अन्य समस्याले कामै रोकिँदैन,’ डिभिजन प्रमुख भण्डारीले भने, ‘ठेकेदारका बहानाबाजीले रोकिएका हुन्।’

कर्नालीमा न्यूनतम एक करोड १७ लाख रुपैयाँदेखि झन्डै १४ करोडसम्मका पुल बन्दैछन्। कर्नाली राजमार्गका ४१ करोड ३६ लाख रुपैयाँभन्दा बढी लगानीमा पुल निर्माण बन्दैछन्। तत्कालीन कालीकोट, जुम्ला, हुम्ला सडक आयोजनाले पुल निर्माण कार्यको रेखदेख गर्ने जिम्मेवारी पाएका बेला ठेकेदारले चरम लापरबाही गरेको आरोप छ।

अहिले चालु आर्थिक वर्षभित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष लिइए पनि नसकिने भएको छ। पुलैपिच्छे फरक ठेकेदार छन्। बन्द, हडताल, वर्षात र दुर्गम भएकाले सामान ढुवानी समयमै नहुँदा पुल निर्माणमा ढिलाइ भएको कन्सलटेन्सीहरु बताउँछन। कर्नालीमा सात मिटर चौडाइ र १२ देखि ७५ मिटरसम्म लम्बाइका पक्की पुल बन्न लागेका हुन्। अनुगमनको लागि आवश्यक पर्ने सवारी साधन र कर्मचारी अभावका कारण पुल बन्ने ठाउँमै पुगेर अनुगमन गर्न नसकिएको अधिकारी बताउँछन्।

कर्नाली राजमागको एक सय १२ किलोमिटर दुरीभित्र बन्ने आधा दर्जनभन्दा बढी पुल अलपत्र परेका छन। पुल नबन्दा सडकमा जोखिम बढेको छ। पुल बन्ने ठाउँमा साघँुरो कच्ची सडक भएकोले दुई बस अटाउन सक्ने अवस्था छैन। स्थानीय आउसे थापाले कर्नाली राजमार्गमा पुल नबन्दा निकै जोखिम मोल्नुपरेको बताए। उनले अन्य स्थानमा सहजै रुपमा यात्रा गर्न सकिने भए पनि पुल निर्माण गर्दै गरेको ठाउँमा निकै त्रासदी भोग्नु परेको अनुभव सुनाए।

newssanchar.com  बाट