नेपालीद्धारा टोकियोमा शान्ति पदयात्रा
काठमाडौं, १३ बैशाख ।
जापानको राजधानी टोकियोमा शान्ति पदयात्रा गरिएको छ । राजधानी टोकियोको व्यस्त शहर सिवुयामा नेपालमय हुने गरी गरिएको पद यात्रा निकै भव्य थियो ।
जापानी भाषामा गौतम बुद्ध र बुद्ध जन्मस्थल लुम्विनीबारे जानकारी दिँदै निकालिएको पदयात्रामा सयौं नेपाली उपस्थित भएका थिए ।
स्थानीय शिबुयाको मियासिता पार्कबाट निकालिएको पदयात्रामा विभिन्न भेषभुषामा सजिएका नेपालीसहित थुप्रै जापानी नागरिक सहभागि थिए ।
ढाका टोपीसहित दौरा सुरुवालमा सजिएका पुरुष तथा गुन्यू चोलोमा सजिएका महिला सहभागिले नेपाली झण्डा र व्यानर बोक्दा सडक किनारामा हेर्नेको भीड नै लागेको थियो ।
बुद्ध नेपालमा जन्मिएको सन्देश दिइएको पदयात्रामा नेपाल जापान दौत्य सम्वन्धको हीरक महोत्सव सफल पार्न आह्वान पनि गरिएको थियो ।
भगवान बुद्ध र बुद्ध जन्मस्थल लुम्विनीका बारेमा फिजाइएको भ्रम तोड्न पदयात्रा गरिएको आयोजक वी फर अल जापानका अध्यक्ष सरोजकुमार खत्रीले जानकारी दिए ।
कार्यक्रमको जानकारी लिन जापानी संचार माध्यमका संचारकर्मीसमेत पुगेका थिए ।