बारको मतगणना- लोकतान्त्रिक समूहको अग्रता कायमै

काठमाडौं, २६ चैत ।

bar

नेपाल बार एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक समूहको अग्रता कायमै छ । मंगलबारदेखि शुरु भएको मतगणनाको अन्तिम परिणाम शुक्रबार अपराह्नसम्ममा आउन सक्ने निर्वाचन समितिले जनाएको छ ।

सर्वोच्च अदालत परिसरमा जारी मतगणनामा अध्यक्षमा शेरबहादुर केसीसहित उपाध्यक्षहरु,महासचिव र कोषाध्यक्षमा समेत लोकतान्त्रिक समूहले अग्रता लिइरहेको हो ।

बिहीबार साँझसम्मको परिणामअनुसार केसीले ३ हजार ३ सय ५ र प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार विजयकान्त मैनालीले ३ हजार ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा केसी समूहका खम्बबहादुर खातीले ३ हजार १ सय ४७ र मैनाली समूहका दिनमणि पोखरेलले २ हजार ९ सय ७० मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा केसी समूहका ज्ञानरत्न शाक्यले ३ हजार ४५ र मैनाली समूहका हरिबहादुर खड्काले २ हजार ९ सय २ मत ल्याएका छन् ।

बारको २४ औं कार्यसमितिको चुनावमा केसीले लोकतान्त्रिक गठबन्धनको र विजयकान्त मैनालीले प्रगतिशील प्यानलको नेतृत्व गरेका छन् । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाबीच प्रतिस्पर्धा भइरहेको छ ।

९ हजार ५ सय २२ मतदाता मध्ये ७ हजार ८ सय ४५ मत खसेको थियो । काठमाडौं मतदान केन्द्रमा ५ हजार ८ सय ६२ मतमध्ये ४ हजार ५ सय ९२ मत खसेको थियो ।