विवादित बुँदाहरु मतदानबाट टुंगो लगाउने मस्यौदा समितिको निर्णय
काठमाडौं , २२ चैत ।
व्यवस्थापिका संसदको नियमावली मस्यौदा समितिले नियमावलीमा सहमति जुट्न नसकेका विषय मतदानबाट टुंगो लगाउने भएको छ । समितिको सोमबार बसेको बैठकले विवादित बुँदाहरु आउँदो बिहीबार दिउँसो ३ बजे मतदान गरेर टुंगो लगाउने निर्णय गरेको हो ।
संसदीय सुनुवाई विशेष समिति कति सदस्यीय बनाउने भन्नेमा समितिमा विवाद छ । नेपाली कांग्रेस र साना दलले पहिल्यैकै व्यवस्था अनुसार संसदीय सुनुवाई विशेष समिति ७३ सदस्यीय बनाउनु पर्ने अडान राख्दै आएका छन् । तर सत्तारुढ दलले भने नयाँ संविधान अनुसार विशेष समिति १५ सदस्यीय हुनु पर्ने अडान राखेका छन् ।
संसदको नियमावली बनाउनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा व्यवस्थापिका संसद नियमावली मस्यौदा समिति गठन भएको थियो ।
१५ दिनमा मस्यौदा बनाने जिम्मेवारी पाएको ६२ सदस्यीय यो समितिको पहिलो बैठक मंसिर ४ गते बसेको थियो । जसअनुसार समितिको म्याद मंसिर १९ गते सकिने भएपनि पटक पटक म्याद थप हुँदै आएको छ र पनि समितिले नियमावलीको मस्यौदा बनाउन सकेको छैन । यो समितिलाई नयाँ संविधान अनुसार संसद बैठक तथा संसदीय गतिविधि सञ्चालनका लागि नियमावली बनाउने जिम्मेवारी छ ।