विश्वकप तयारीमा काम गर्ने नेपालीको तलब बीसहजार भन्दा कम, दुव्र्यवहारसमेत गरिएको खुलासा

कतार, १९ चैत /
khalifaसन् २०२२ को विश्व कप आयोजनाका लागि कतारमा भइरहेको भौतिक पूर्वाधार निर्माणका क्रममा रहेका नेपाली लगायत श्रमीकहरुको मासिक तलब  दुई सय डलर (बीसहजार) भन्दा कम रहेको पाइएको छ ।
एमनेष्टी इन्टरनेशनलले गरेको अध्ययनमा उनीहरुमाथि दुव्र्यवहारसमेत भएको पाइएको छट । एमनेष्टीले बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा उनीहरुलाई समयमा तलव नदिने र केही महिना तलब रोकीदिने समेत गरेको उल्लेख गरिएको छ ।

यसअघि पनि विभिन्न मानवअधिकारवादी संघसंस्था र सञ्चारमाध्यमले कतारमा विश्वकपको भौतिक पूर्वाधार निर्माणका क्रममा मानवअधिकारको उल्लंघन भइरहेको दाबी गर्दै आएका थिए ।

एमनेस्टीले जारी गरेको ५२ पृष्ठ लामो प्रतिवेदनमा विश्वकपका लागि निर्माणाधीन खालिफा इन्टरनेसनल स्टेडियममा कार्यरत एक सय ३२ जना कामदारहरुको कुराकानी समावेश गरिएको छ । उनीहरुसँग गरिएको अन्तर्वार्ताका आधारमा प्रतिवेदन तयार पारिएको भन्दै उमनेष्टीले उनीहरुमाथि श्रमशोषण भएको किटान गरेको हो । एमनेष्टीले नेपाल, भारत र बंगलादेशबाट गएका कामदारसँग अन्तर्वार्ता लिइएको थियो । एमनेष्टीले रिपोर्टमा अधिकांश कामदारले बसोबासको राम्रो प्रबन्ध नभएको, महिनौं तलब रोकेर राखिएको र राहदानी रोकेको गुनासो गरेको उल्लेख गरेको छ । साथै ठेकेदार कम्पनीले सम्झौता नवीकरण नगर्दा आफूहरूले जरिवाना तिर्नुका साथै हिरासतमा बस्नुपरेको समेत कामदारहरूको भनाइ छ ।

खाडी राष्ट्रका आप्रवासी कामदारको अधिकारबारे एमनेस्टीका अनुसन्धानकर्ता मुस्तफा क्वाद्रीले अधिकांश कामदारले एउटै किसिमको समस्या सामना गरिरहेको बताएका छन् ।
यस सम्वन्धी नेपाल सरकारको आधिकारीक धारणा र वक्तव्य आएको छैन ।