कामका लागि साउदी अरेबिया जाँदै हुनुहुन्छ ? एयरपोर्टमै स्वागत, विभिन्न सेवा र परामर्श दिने

काठमाडौं , ३ चैत ।
Labor-Minister-Mufrej-Al-Haqabani-Saudi-Arab
  • साउदीका श्रममन्त्री मुफ्रीज अल हक्बानी । फाइल तस्वीर

कामका लागि साउदी अरेबिया जाँदै हुनुहुन्छ ? अब साउदी अरेबियाको सरकारले तपाईंलाई एयरपोर्टमै स्वागत मात्रै गर्नेछैन विभिन्न सेवा र परामर्श पनि दिनेछ ।

जाँदाजाँदै साउदी टेलिकम कम्पनी (एसटीसी)ले तपाईंलाई निःशुल्क दिने सिमकार्ड झनै विशेष हुनेछ । सिमकार्डमा केहि मिनेटको फ्रि टकटाइम र एसएमएस सेवा हुनेछ । जसबाट कामदारले विदेश आइपुग्नासाथ आफ्नो परिवारलाई सम्पर्क गर्न सक्नेछन् ।

त्यहाँको अध्यागमन विभागको नेतृत्वमा सुरु भएको यो कार्यक्रमको साउदीका श्रममन्त्री मुफ्रीज अल हक्बानीले मंगलबार उदघाटन गरेका छन् । रियादको किंग केल्हाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सरकारी हेल्पडेस्क उदघाटन गरेर उनले यस कार्यक्रमको औपचारिक सुरुवात गरे । अर्को हप्तादेखि अन्य अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन बिन्दुमा पनि यस्तै कामको सुरुवात गर्ने मन्त्रालयको तयारी छ ।

साउदी टेलिकम कम्पनी (एसटीसी)ले तपाईंलाई निःशुल्क दिने सिमकार्ड झनै विशेष हुनेछ । सिमकार्डमा केहि मिनेटको फ्रि टकटाइम र एसएमएस सेवा हुनेछ

हेल्प डेस्कका साउदी कर्मचारीहरुले कामदारहरुलाई उसको सम्झौता भएको कम्पनीमा पुर्‍याउन सहयोग गर्नेछन् । साउदीले आफ्नो देशमा रोजगारीका लागि आउने कामदारलाई विमानस्थलमै विभिन्न विषयमा परामर्श पनि दिनेछ । यो सेवाबाट अब कामदार विमानस्थलमै अलपत्र परेर दुःख पाएको देख्न र सुन्न नपर्ने अपेक्षा गरिएको छ ।

मोबाइलको सिमकार्डसँगै कामदारले आफ्ना अधिकार, काम, कर्तब्य, देशको कानुन, समस्या परे साउदी सरकारसँग सहयोग माग्ने निकाय र त्यसका प्रक्रियालगायतका विषय समेटिएको ब्रोसर पाउनेछन् । ब्रोसर कामदारकै मातृभाषामा तयार गरिएको हुने अरबन्युज डटकमले जनाएको छ ।

सरकारी कार्यालयमा मात्रै केन्द्रित भएको कामदारको सेवालाई विमानस्थलमा ल्याएपछि साउदीमा श्रमिकको अधिकार थप प्रत्याभुत हुने साउदी सरकारको विश्वास छ ।

यस्तै विदेशी कामदार र सरकारबीचको दुरी कम भएर साउदी उत्कृष्ट श्रम गन्तब्य मुलुकमा गनिने अपेक्षा गरिएको छ ।