गाेसाईँकुण्ड बार्है महिना आकर्षक गन्तव्य बन्दै
रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्वका अवसरमा मात्र यात्रुको चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् ।
सडक सञ्जालको विस्तार तथा पदमार्गमा होटल र लजको सुविधा थपिएपछि जुनसुकै याममा पनि गोसाइँकुण्ड पुग्न सहज भएको स्थानीय व्यवसायी बताउँछन् । काठमाडौँबाट सदरमुकाम धुन्चेसम्म सवारीसाधनमा पुग्न सकिने भएकाले त्यहाँबाट दुई दिनको पैदलयात्रामा गोसाइँकुण्ड पुग्न सकिन्छ । काठमाडौँको सुन्दरीजल वा नुवाकोटको समुद्रटार हुँदै जाने वैकल्पिक पदमार्गबाट पनि यात्रा गर्न सकिन्छ ।
पदमार्गमा खानेबस्ने सुविधा सहज भएसँगै बाह्रै महिना पदयात्री आउन थालेको खेन्दीका होटल व्यवसायी सृजना घलेले बताउनुभयो । पहिले विशेष मेलापर्वमा मात्र पर्यटकको चहलपहल हुने गरेकामा अहिले वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उहाँको भनाइ छ ।
धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० जना पर्यटक यस क्षेत्रमा आउने गरेका छन् । केही दिन यो सङ्ख्या अझ बढी हुने गरेको छ । गत भदौ १० गतेको बाढीले बाटो तथा संरचनामा क्षति पुर्याउँदा पर्यटक आगमन केही समय प्रभावित भए पनि अहिले जनजीवन र पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको उहाँले बताउनुभयो ।- रासस





