नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रामक समाचार प्रकाशन नगर्न आग्रह

मूलखबर संवाददाता
काठमाडौं, १८ कात्तिक

आधिकारिक सूचना र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई कम्पनीको अनुरोध

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समय केही सञ्चारमाध्यममा कम्पनीको खरिद प्रक्रियाबारे भ्रामक तथा अपुष्ट समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी सूचनामा नेपाल टेलिकम ऐन, २०६३ अनुसार स्थापना भई दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र प्राप्त गरेर देशभर गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको संस्था भएको उल्लेख छ।

एक सय वर्षभन्दा पुरानो ऐतिहासिक पृष्ठभूमि रहेको कम्पनीले प्रचलित ऐन, कानुन तथा पछिल्लो समय विकसित सुशासनका मूल्य र मान्यताअनुसार आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। स्थापित प्रतिष्ठा, जनविश्वास र आमग्राहकको भरोसा नै कम्पनीको महत्वपूर्ण सम्पत्ति भएको पनि सूचनामा उल्लेख गरिएको छ।

नेपाल टेलिकमले सस्तो र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभ रूपमा सबै नागरिकलाई उपलब्ध गराउने तथा देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित काम गरिरहेको जनाएको छ। सहरी क्षेत्रदेखि देशका दुर्गम स्थानसम्म सेवा विस्तार गर्दै नयाँ प्रविधिको अवलम्बन, गुणस्तरीय सेवाको उपलब्धता र व्यावसायिक सुदृढीकरणमा कम्पनी क्रियाशील रहेको सूचनामा उल्लेख छ।

कम्पनीका अनुसार खरिद प्रक्रियासम्बन्धी कार्यहरू आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी  स्ट्यान्डर्ड बीड डकुमेन्टका आधारमा आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन हुँदै आएका छन्।

कम्पनीले खरिद प्रक्रियालगायत विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक जानकारी लिन सञ्चारमाध्यमलाई आग्रह गरेको छ। यसका लागि कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता तथा सूचना तथा प्रकाशन शाखामार्फत आवश्यक विवरण सहज रूपमा उपलब्ध हुने जनाएको छ।

नेपाल टेलिकमले तथ्यहीन तथा भ्रामक समाचार सम्प्रेषण नगरी आधिकारिक सूचना र तथ्यका आधारमा समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमसँग अनुरोध गरेको छ। साथै कम्पनीको प्रतिष्ठा, विकास र संस्थागत हित अभिवृद्धिमा सकारात्मक सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ।