यस वर्षकाे अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दुइजनालाई

मूलखबर संवाददाता
काठमाडौं

यस वर्ष अर्थशास्त्र तर्फको नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

यस वर्षका अर्थशास्त्रका विजेताहरू हल र उडफोर्डले नयाँ म्याक्रोइकोनोमिक अर्थात् समष्टिगत आर्थिक मोडलहरू विकास गरेका हुन् । यसले प्रभावकारी स्थिरीकरण नीति लागू गर्ने हाम्रो क्षमतामा महत्त्वपूर्ण सुधार ल्याएको समितिले उल्लेख गरेको छ ।

रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रतिष्ठित पुरस्कार दिइएको हो ।

नोबेल पुरस्कार समितिका अनुसार, अर्थतन्त्र सधैँ एकै गतिमा चल्दैन, यसमा उकालो र ओरालो लाग्ने चक्रहरू आइरहन्छन्। हल र उडफोर्डको अनुसन्धानले अर्थतन्त्रका यस्ता तीव्र उतारचढावलाई सन्तुलित गर्न मद्दत गरेको छ।

सही समयमा अर्थतन्त्रलाई गति दिने वा सुस्त बनाउने कदम चाल्न सकियो भने त्यसले स्थिरता प्रदान गर्छ र देशलाई लामो समयसम्म चल्ने मन्दी वा अनियन्त्रित मूल्यवृद्धिबाट बचाउँछ।

उनीहरूकै अनुसन्धानको परिणामस्वरुप बनेका ‘न्यु किन्सियन मोडल’हरूले सरकारी नीतिले व्यापार चक्रलाई कसरी असर गर्छ भनेर व्याख्या गर्न र मापन गर्न सम्भव बनाएका छन्।

यो सिद्धान्त आजको विश्वमा कति महत्त्वपूर्ण छ भने, हाल विश्वभरका अर्थ मन्त्रालयहरू र केन्द्रीय बैंकहरूले सन्तुलित र सुसूचित निर्णयहरू लिन यही मोडलको प्रयोग गर्छन्। नीति निर्माताहरूसँग अहिले योभन्दा प्रभावकारी अर्को कुनै विकल्प नै छैन।