लमजुङका यी पाँच स्थानमा दशैंलक्षीत यात्रु सहायता कक्ष सञ्चालन

मूलखबर संवाददाता
लमजुङ, २२ असाेज

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै लमजुङका विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना, बढी भाडा असुली, टिकटमा हुने अनियमितता, चोरी तथा यात्राका क्रममा आइपर्ने समस्या न्यूनीकरणका लागि बुधबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको मुख्य प्रवेशद्वार सुन्दरबजारको पाउँदी, सिउँडीबार चोक, मध्यनेपालको पाखुरीचोक, राइनासको धमिलीकुवा चोक र बेँसीसहर नगरपालिकाको भकुण्डे चालिसेचोकमा सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले भकुण्डे चालिसेचोक र पाउँदीमा सहायता कक्षको उद्घाटन गर्नुभयो । उहाँले चाडपर्वका समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्दै नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सहायता कक्ष प्रभावकारी हुने बताउनुभयो ।

उहाँले सहायता कक्षमा खटिने प्रहरी तथा सुरक्षाकर्मीलाई नागरिकको सेवामा जिम्मेवार भएर खटिन आग्रह गर्नुभयो । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चाडपर्वका समयमा हुनसक्ने अपराध तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरी सक्रिय रूपमा परिचालन हुने बताउनुभयो । यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन प्रहरी परिचालित हुने उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गौतमबहादुर खत्रीका अनुसार पाँचवटै सहायता कक्षमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली रहने व्यवस्था गरिएको छ । काठमाडौँ, पोखरा, चितवनलगायत स्थानबाट आउने यात्रु तथा सवारी साधनलाई लक्षित गरी मुख्य सडक तथा नाकामा सहायता कक्ष सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सहायता कक्षमार्फत बढी भाडा असुली, टिकटमा हुने अनियमितता, सवारीसाधनको अवस्था, चोरी तथा अन्य समस्यासम्बन्धी गुनासा सम्बोधन गरिनेछ । ट्राफिकसम्बन्धी विषयमा ट्राफिक प्रहरीले र अन्य प्रहरीसम्बन्धी विषयमा नेपाल प्रहरीले आवश्यक कारबाही गर्ने व्यवस्था मिलाइएको छ । यात्रुले सहायता कक्षमा उपलब्ध सम्पर्क नम्बर तथा ट्राफिक प्रहरीको हेल्पलाइन १०३ र नेपाल प्रहरीको १०० मा समेत सम्पर्क गर्न सक्नेछन् ।